(एमसीसी) संसदको चालु अधिवेशनबाट पारित गर्ने तयारी

(एमसीसी) संसदको चालु अधिवेशनबाट पारित गर्ने तयारी

काठमाडौं ३ जेठ । सरकारले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदको चालु अधिवेशनबाट पारित गर्ने संकेत गरेको छ । सरकारले आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रममा एमसीसी अनुदानबाट सम्पन्न गरिने आयोजना समेटेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमको २११ औं बुँदामा भनिएको छ ‘लप्सीफेदी–राटमाटे, हेटौंडा र लप्सीफेदी–राटमाटे–दमौली–बुटवल ४ सय केभी प्रसारण लाइन निर्माण कार्य अघि बढाइनेछ ।’

कुल ३१२ किलोमिटर लामो यो प्रसारण लाइनका लागि ४० करोड अमेरिकी डलर लाग्ने मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए)ले जनाएको छ । एमसीसी कार्यान्वयनका लागि नेपालले १३ करोड डलर र अमेरिकीले ५० करोड डलर अनुदान दिने भनिएको छ ।

एमसीए नेपालका एक बोर्ड सदस्य पनि बजेट प्रस्तुत भए लगत्तै संसदबाट एमसीसी सम्झौता (कम्प्याक्ट) पारित गर्ने गरी तयारी भइरहेको बताउँछन् । यो अधिवेशनबाट पारित नहुँदा अमेरिकाले हात झिक्ने सम्भावना रहेकाले आफूहरू कोभिड–१९ को तनावकाबीच यसको लबिङमा लागेको उनको भनाइ छ ।

संसदबाट सम्झौता अनुमोदन गराएर १७ असारदेखि कार्यान्वयनमा जान लागेको उनले जानकारी दिए । ‘मलाई लाग्छ, हाम्रा लागि यो अन्तिम अवसर हो’ ती सदस्य भन्छन्, ‘कोरोनाले गर्दा भविष्यमा वैदेशिक सहायता घट्ने भएकाले पनि हामीले यो अनुदान गुमाउनु हुँदैन ।’



ट्रेन्डिङ