आज २७ औं मदन–आश्रित स्मृति दिवस / पार्टी एकता भएको दुईवर्ष पुग्यो , दुवै अध्यक्षद्धारा संयुक्त विज्ञप्तिजारी

आज २७ औं मदन–आश्रित स्मृति दिवस  / पार्टी एकता भएको दुईवर्ष पुग्यो , दुवै अध्यक्षद्धारा संयुक्त विज्ञप्तिजारी

चितवन ३ जेठ । आज २७ औं मदन–आश्रित स्मृति दिवस । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २७ वर्ष वितेको छ । आजको दिन मदन आश्रितको स्मृतिमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आएको थियो । चितवनको दासढुंगामा प्रत्येक वर्ष स्मृति सभानै आयोजना हुँदै आएको थियो । तर यसपटक कुनै भव्य औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । कोरोनाको महामारीका कारण कुनैपनि खालको औपचारिक कार्यक्रम गरिएको छैन ।  यद्यपी चितवनका अगुवा नेता कार्यकर्ताहरु पुगेर मदन – आश्रितको सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम छ ।

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङगामा दुर्घटनामा परी ज्यान गुमाएका थिए । २०५० जेठ ३ गते आजकै दिन मदन–आश्रित चढेको जीप दासढुगाबाट त्रिशुलीमा खसेको थियो । उनीहरुको स्मरणका लागि दासढुंगामा दुवै जनाको शालिक निर्माण गरिएको छ । प्रत्येक वर्ष सोही शालिकमा माल्यापर्ण गर्ने गरिएको छ ।

आज औपचारिक कार्यक्रम नभए पनि मदन र जीवराजलाई आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले उनीहरुलाई स्मरण गर्दैछन्। नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान भण्डारीले महत्वपूर्ण भूमिका खेलेका थिए।

यसैबीच मदन आश्रित स्मृति दिवस र पार्टी एकताको दुई वर्ष पुगेको अवसरमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त वक्तव्य निकालेका छन् । अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकताका बाँकी काम छिट्टै पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । तत्कालीन एमालेलाई जनताको बहुदलीय जनवाद (जबज) प्रक्रियामा लैजाने भण्डारीको भूमिकालाई नेपाली कम्युनिष्ट आन्दोलनमा असाधारण योगदानको रुपमा चर्चा गरिन्छ ।

भण्डारी र आश्रितको ०५० जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।



ट्रेन्डिङ