पूर्वी सीमामा पनि भारतको खिचलो

पूर्वी सीमामा पनि भारतको खिचलो

विराटनगर, इलाम, ताप्‍लेजुङ — जंगे पिलरभन्दा करिब एक सय मिटर वर नेपाली भूमिमा निर्माण भइरहेको संग्रहालयको काम भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकिदिएको छ । नेपालको पश्चिमी भूभाग लिपुलेक र कालापानी क्षेत्रमा सडक बनाएर उद्घाटन गरेको भारतले पूर्वी सीमाअन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने दशगजा क्षेत्रसमेत आफ्नो भएको दाबी गरेको हो ।

पाँचथरको फालेलुङ–६ आहालमा स्थलगत अध्ययनमा पुगेका फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङसहितको टोली र भारतीय सुरक्षाकर्मी । तस्बिर : लक्ष्मी गौतम

पाँचथर र इलामको सीमावर्ती क्षेत्रमा उक्त पर्यटकीय संग्रहालय बनाउन लागिएको थियो । इलामको सन्दकपुरसँग जोडिएको उक्त निर्माणस्थल जंगे पिलरभन्दा करिब एक सय मिटर वर नेपालतर्फ पर्ने फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताए । ‘भारतीय सुरक्षाकर्मीले नयाँ नक्साअनुसार उक्त क्षेत्र दशगजामा पर्ने भन्दै निर्माणको काम रोके,’ कान्तिपुरसँग फोनमा उनले भने, ‘सीमाको विवाद नटुंगिएसम्म यहाँ कुनै निर्माणको काम नगर्नु भनेपछि काम रोकिएको छ ।’ भवन निर्माण नगर्न र बनाए भत्काइदिने चेतावनीसमेत उनीहरूले दिएको केरुङले बताए ।

डिभिजन वन कार्यालय पाँचथरबाट प्राप्त १० लाख रुपैयाँबाट सन्दकपुर आहाल चौंरीपालन कबुलियती समूह ‘क’ ले वैशाख २४ देखि संग्रहालयको भवन बनाउन थालेको थियो । भवनको जग खन्ने काम भइरहेका बेला वैशाख २६ मा आएका भारतीय सुरक्षाकर्मीले काम रोक्न भनेको समूहका अध्यक्ष नरबहादुर खपाङ्गीले बताए । उनका अनुसार कालपोखरीस्थित भारतीय सुरक्षा बलका इन्चार्ज रिङकल कुमारसहितको टोलीले उक्त भूभाग भारतकै भएको दाबी गरेको थियो । उक्त टोलीले संग्रहालय निर्माणाधीन क्षेत्रभन्दा पर रहेको ५७ नम्बर जंगे पिलरसमेत भारतकै भूमिमा रहेको बताएका थिए ।

 

पाँचथरको फालेलुङ–६ आहाल भन्ने स्थानमा निर्माण थालिएको कबुलियती वनको क्षेत्र । तस्बिर : लक्ष्मी गौतम/केभिटी

पर्यटन प्रवर्द्धनका लागि भनेर बनाउन थालिएको संग्रहालयमा स्थानीय सबै जातजातिका मौलिक संस्कृति र परम्परागत सामग्री, सांस्कृतिक वस्तुहरू राख्ने योजना रहेको समूहका सचिव राजेन्द्र राईको भनाइ छ । एसएसबीले काम रोक्न भनेपछि समूहले फालेलुङ गाउँपालिका र डिभिजन वन कार्यालयलाई जानकारी गराएको थियो । मंगलबार गाउँपालिका अध्यक्ष केरुङ, प्रहरी र स्थानीयले उक्त क्षेत्रको अवलोकन गरेका थिए । फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले निर्माणमा अवरोध भएपछि गाउँपालिकाको टोली गएर अनुगमन र एसएसबीका अधिकारीसँग छलफल गरेको बताए । टोलीमा वडा–४ का अध्यक्ष विद्धिमान सावदेन, ५ का जीवनकुमार राई, सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञबहादुर बस्नेत, इलाका प्रहरी मच्छेबुङका प्रमुख सोमनाथ ढुंगाना, प्राङवुङ प्रहरी चौकीका प्रमुख मिलनकुमार श्रेष्ठलगायत सहभागी थिए ।

छलफलमा भारतका तर्फबाट थोकुम, सन्दकपुर र जौबारी क्षेत्र हेर्ने दार्जिलिङको कालापोखरीस्थित एसएसबी क्याम्पका सुरक्षा अधिकारी सामेल भएका थिए । सीमा क्षेत्रको कालपोखरी, थोकुम र सन्दकपुर नजिक एसएसबीको क्याम्प छ । ३–३ किलोमिटरमा भारतीय सुरक्षा बलको टोली बसेका छन् ।

एसएसबीले ५७ नम्बर पिलरसहित आसपास क्षेत्र भारतीय भूमिमै रहेको नक्सा देखाएर त्यहाँ निर्माण गर्न नदिने अडान कायम राखेको पालिका अध्यक्ष केरुङले बताए । ‘भारतीय सुरक्षाकर्मीले नयाँ नक्सा बोकेका थिए, त्यसमा ५७ नम्बरको जंगे पिलरसमेत उतैको जमिनमा घुसाइएको पाइयो, ५७/४ नम्बर सहायक पिलर पनि गायब गरिएको रहेछ, दशगजा क्षेत्रभन्दा सय मिटरभित्र बनाउन थालिएको भवनको काम पनि रोक्न भनेपछि हामी पुगेर छलफल गरेका थियौं,’ केरुङले भने ।

सीमा क्षेत्रमा भारतीयको तुलनामा नेपाली सुरक्षाकर्मीको उपस्थिति उल्लेख्य छैन । यही अवस्थाको फाइदा उठाएर नेपाली भूमि मिच्ने काम भइरहेको पाँचथरका एक जनप्रतिनिधिले बताए । ‘कतिपय स्थानीय बासिन्दालाई भारत सरकारले दिने ‘रासन कार्ड’ उपलब्ध गराइदिने आश्वासन दिने गरेको पनि पाइएको छ,’ ती जनप्रतिनिधिले भने, ‘महामारीको यो अप्ठ्यारो बेलामा सीमा क्षेत्रमा अलि गम्भीर भएर ध्यान दिनुपर्ने देखिएको छ ।’

फालेलुङ गाउँपालिका अध्यक्ष केरुङले स्थलगत अध्ययन गरेपछि स्थानीय स्तरबाट समस्या समाधान गर्न नसकिने निष्कर्ष निकालिएको बताए । उनका अनुसार यो निष्कर्षसहितको जानकारी जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र गृह मन्त्रालयसम्मलाई अवगत गराइएको छ । सीमावर्ती क्षेत्रअन्तर्गत विभिन्न स्थानमा दशगजामै भारतीय पक्षले संरचनाहरू बनाएको भए पनि ती संरचना हटाउनेबारे भने भारततर्फबाट कुनै चासो नदेखाइएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार गुरागाईंले प्रारम्भिक रूपमा गाउँपालिकाबाट मौखिक जानकारी आएपछि त्यसैअनुसारको जानकारी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालय र संघीय सरकारको गृह मन्त्रालयलाई गराइसकेको जनाए । ‘आहालमा संग्रहालयका लागि भनेर दुईकोठे भवन बनाउने तयारी गरिएको रहेछ । त्यसका लागि सम्याउने र जग खन्ने काम थाल्दाथाल्दै भारतीय सुरक्षाकर्मीले रोकेको जानकारी पाएको छु,’ गुरागाईंले भने, ‘गाउँपालिकाबाट लिखित जानकारी पनि आएको छ, त्यसको अध्ययन र थप कुरा बुझेर माथिल्लो निकायमा लिखित जानकारी पठाउने तयारी गरिरहेका छौं ।’ भारतीय पक्षले उक्त क्षेत्र दशगजा क्षेत्रमा पर्ने दाबी गर्दै निर्माण गरिए भत्काइदिने चेतावनीसमेत दिएका भन्दै जनप्रतिनिधिहरूबाट खबर पाएको उनले सुनाए ।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार निर्माणमा रोक लगाइएको जानकारी स्थानीय प्रशासन र गाउँपालिकाबाट प्रदेश सरकारलाई आएको पुष्टि गरे । पाँचथरका प्रदेश सांसदसमेत रहेका उनले संग्रहालय निर्माण गर्ने भनिएको स्थान दशगजा क्षेत्र (नो मेन्स ल्यान्ड) भएको तर उक्त स्थान नेपालतर्फ पर्ने उनको दाबी छ ।

अवरोधले पर्यटकीय पूर्वाधार अधुरै

अघिल्लो आर्थिक वर्षमा निर्माण भइसक्नुपर्ने इलामको सीमावर्ती सन्दकपुर क्षेत्रको पर्यटन पूर्वाधार विकास कार्यक्रम अझै अवरुद्ध छ । गाउँपालिकाले पूर्वाधार विकास थालेपछि भारतीय सीमा सुरक्षा बलले दशगजा क्षेत्र रहेको भन्दै निर्माण रोकेको थियो । समुद्र सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुर डाँडा आसपासमा थालिएका पूर्वाधार विकासमा अवरोध भएको वर्ष दिन बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । त्यहाँ निर्माणाधीन सडक, प्रवेशद्वार र भ्यु–प्वाइन्टमा आधा काम हुँदाहुँदै अवरोध भएपछि तत्कालीन अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारले चासो देखाएका थिए । तर, अझैसम्म पनि काम सुरु हुन सकेको छैन ।

इलामको सबैभन्दा अग्लो सन्दकपुर डाँडा । भारत सीमावर्ती यस क्षेत्रमा अघिल्लो वर्ष नै पर्यटकीय पूर्वाधार निर्माणमा अवरोध भएपछि पुनर्निर्माणका काम हुन सकेका छैनन् । तस्बिर : विप्लव/कान्तिपुर

‘भारतीय पक्षले दशगजाको ३० मिटरभित्र कुनै पनि पूर्वाधारका काम दुवै देशले नगर्ने प्रस्ताव गरेका छन्,’ सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले भने, ‘त्यसपछि अधुरा कामलाई पूर्णता दिन सकिएको छैन ।’ यसअघि भारतीय पक्षले दशगजाको वास्ता नगरी सडक बनाएको तर्क स्थानीय तहले भारतीय पक्षसँग राख्दा ब्रिटिस शासनकालमै सडक खुलेको जवाफ पाएको उनले सुनाए । सन्दकपुर क्षेत्रमा पूर्वाधारको काम रोकिएपछि त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि नेपाली भूमिमा हुने अतिक्रमण र अवरोधका विषयमा भारतीय पक्षसँग खुलेर बहस गर्ने बताएका थिए ।

सन्दकपुर क्षेत्र हिमशृंखला अवलोकन, जैविक विविधता र धार्मिक हिसाबले महत्त्वपूर्ण मानिन्छ । भारतीय पक्षले वर्षौंदेखि यस क्षेत्रको एकलौटी रूपमा उपयोग र लाभ लिँदै आएको छ । मुलुक नयाँ संरचनामा गएपछि त्यस क्षेत्रको पर्यटकीय विकासमा नेपाली पक्षले पनि लगानी बढाउँदै जाँदा अवरोध भएको हो । सीमावर्ती क्षेत्रमा २ करोड ५७ लाखको लागतमा आवास गृह निर्माण हुने प्रक्रियामा छ । यो भवनलाई विवाद नहुने गरी सीमाभन्दा ३० मिटरभित्र नै निर्माण गर्न लागिएको अध्यक्ष राईले जनाए । गैरीबासबाट कैयाकट्टासम्म ट्रेकिङ रोड बनाउने क्रममा पनि अघिल्लो वर्ष भारतीय पक्षले झमेला खडा गरेका स्थानीय बताउँछन् ।

कहाँ–कहाँ छ सीमा विवाद ?

रोङ गाउँपालिकाको मेचीखोलादेखि सन्दकपुरसम्मको साढे ५२ किलोमिटर लामो सीमा क्षेत्रको निगरानीका लागि पशुपतिनगर फाटकमा बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) राखिएको छ । तर, लामो दूरी र कठिन भौगोलिक अवस्थाका कारण सबै सीमा क्षेत्रको नियमित निगरानी गर्न एउटै मात्र क्याम्प पर्याप्त छैन । भारतीय क्षेत्रमा ३ देखि ४ किलोमिटरको फरकमा एसएसबी क्याम्प छन् । पशुपतिनगर, हिले, गुफापातललगायत क्षेत्रमा सीमाको विषयमा इलामवासीले यसअघि गतिलै खबरदारी गरेर सीमा कायम गरेका एक स्थानीयले बताए ।

भारतीय पक्षले सीमा सडक, कतिपय स्थानमा एसएसबी क्याप र अन्य पूर्वाधार निर्माणका काम दशगजा क्षेत्रमा बिना अवरोध गरिरहेको छ । तर, नेपाल पक्षले आफ्नै भूमिमा पूर्वाधारको काम गर्दा यसरी अवरोध गर्न नमिल्ने स्थानीयहरू बताउँछन् । पछिल्लो सर्वेक्षणअनुसार कतिपय सीमा स्तम्भ हराएका छन् भने कतिपय सुधार गर्नुपर्ने अवस्थामा छन् । इलामको सीमावर्ती क्षेत्रमा ३७ सीमा स्तम्भ छैनन् । यो क्षेत्रमा मुख्य (जंगे) पिलर १७ वटा हुनुपर्नेमा हाल १६, सहायक पिलर ८३ वटा हुनुपर्नेमा ७२ र सानो पिलर ४६ वटा हुनुपर्नेमा २१ वटा मात्र छन् । पिलर नै कतिपय ठाउँमा गायब भएका कारण पनि सीमामा समस्या बल्झने गरेको हो ।

सीमा स्तम्भ नभएका स्थानमा पानी ढलौको सिद्धान्त बमोजिम मानिँदै आएको सीमा क्षेत्रलाई भारतीय पक्षले गुगल म्याप देखाउँदै आफ्नो दाबी गर्ने गरेका छन् । जसका कारण सीमा क्षेत्रका स्थानीय पनि सशंकित छन् । स्थानीय प्रशासनले २०६५ मा गरेको अनुगमनअनुसार इलामको सन्दकपुरदेखि जिर्मलेसम्मको क्षेत्रमध्ये सन्दकपुर, मानेभन्ज्याङ, सिमाना, बजार, पुलखोला, फाटक, पेनल, हिले, गुफापातल र छब्बीसे, पशुपतिनगरलगायत क्षेत्रमा सीमा समस्या छ । सूर्योदय नगरपालिकाको छब्बीसेदेखि तल मेची नदीले सिमाना छुट्याएकाले उति विवाद देखिएको छैन ।



ट्रेन्डिङ