कोरोनाको कारण खाडीका ६ देश र मलेसियाबाट ४ लाख नेपाली स्वदेश फर्किन सक्ने

कोरोनाको कारण खाडीका ६ देश र मलेसियाबाट ४ लाख नेपाली स्वदेश फर्किन सक्ने

काठमाण्डौ – कोरोना महामारीको कारण खाडीका ६ देश र मलेसियाबाट दुई लाख ८० हजार नेपाली रोजगारी गुमाएर फर्कन सक्ने एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगार बोर्डले गरेको अध्ययनले मलेसियामा ३० हजार, कतारमा ७० हजार, साउदीमा एक लाख, यूएईमा ५५ हजार, कुवेतमा १५ हजार, बहराइनमा ७ हजार र ओमानमा ३ हजार जनाको रोजगारी गुम्ने देखाएको हो ।

भिसाको म्याद सकिएका र आममाफीमा सहभागी १ लाख २७ हजार

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकै बेला भिसाको अवधि सकिएका र आममाफीमा सहभागी भएकाहरु १ लाख २७ हजार रहेको अनुमान गरिएको छ । उडान बन्द हुनुअघि नै र यस अवधिमा भिसाको म्याद सकिनेहरु फर्कन पाएका छैनन् । यस्तै महामारीकै समयमा कुवेत, मलेसिया लगायतका देशले गैरकानुनी श्रमिकलाई आममाफी दिएका छन् । उनीहरु पनि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा फर्कन पाएका छैनन् ।

यसरी फर्कन नपाउनेमा मलेसियामा ७ हजार, कतारमा ७५ हजार, साउदीमा २० हजार, यूएईमा १२ हजार, कुवेतमा ९ हजार, बहराइनमा ३५ सय र ओमानमा ५ सय रहेको अध्ययनले देखाएको छ ।

भिसाको म्याद सकिएर, आममाफीमा सहभागी भएका र कोरोनाको कारण रोजगारी गुमाएर मलेसियाबाट ३७ हजार, कतारबाट एक लाख ४५ हजार, साउदीबाट १ लाख २० हजार, यूएईबाट ६७ हजार, कुवेतबाट २४ हजार, बहराइनबाट १० हजार ५ सय, ओमानबाट ३ हजार ५ सय गरी  ४ लाख ७ हजार फर्कन सक्ने अनुमान गरिएको छ ।

 स्वदेश फर्कन सक्ने श्रमिकको ६ तहमा वर्गीकरण

अध्ययनले कोरोनको कारण प्रभावित भएका श्रमिकलाई ६ तहमा वर्गीकरण गरेको छ । १ नम्बरमा श्रम स्वीकृति वा करार अवधि सकिएर नेपाल फर्कन तयार भएका तर लकडाउनका कारण विदेशमै रोकिएकाहरुलाई राखिएको छ ।

दोस्रो नम्बरमा नयाँ श्रम स्वीकृति (व्यक्तिगत र संस्थागत) लिई वैदेशिक रोजगारीमा गएका, तर करार अवधिभित्रै कोरोनाको कारण रोजगारी गुमाएर स्वदेश फर्कन खोज्नेहरुलाई राखिएको छ । तेस्रो नम्बरमा पुनः श्रम स्वीकृति वा वैधानिकीकरण भै वैदेशिक रोजगारीमा गएका र रोजगारी गुमाई फर्कन खोज्नेहरु, चौथौ नम्बरमा श्रम स्वीकृति लिएको कम्पनी छोडी भागेर अन्यत्र काम गर्दा गैरकानुनी भएकाहरु, पाँचौं नम्बरमा आममाफीमा सहभागी भएकाहरु र अन्तिममा श्रम अवभिभित्र रहेका, रोजगारीमा समस्या नभए पनि अहिलेको अवस्थामा स्वेच्छाले स्वदेश फर्कन खोज्नेहरुलाई राखिएको छ ।

गन्तव्य देशमा गर्नपर्ने पूर्व तयारी

कोरोना महामारीका बेला लाखौं श्रमिक रहेका देशमा दूतावास वा सम्बन्धित निकायले श्रमिकको समस्या समाधानमा चासो दिएनन् भन्ने गुनासा बढिरहेको छ । बोर्डको अध्ययनले गन्तव्य देशमा गर्नुपर्ने पूर्व तयारीका बारेमासमेत सुझाव दिएको छ ।

सबैभन्दा पहिले समस्याको ब्यापकताबारे बुझाई हुनुपर्ने भनिएको छ । जसमा देश छनोट, श्रमिकको छनोट, सूचना सङ्कलन र प्रवाह गर्नुपर्ने भनिएको छ ।  यस्तै सङ्कलित सूचनाको आधारमा श्रमिकको जोखिम मापन गर्नुपर्ने, उपलब्ध गराउने सेवा र बजेटको व्यवस्थासहित आधारभुत सेवाहरु उपलब्ध गराउनुपर्ने सुझाव छ । यो समयमा समस्यामा परेका श्रमिकलाई खाद्यान्नसँगै अन्य आधारभूत आवश्यकताहरुको वितरण गर्नुपर्नेछ ।

गन्तव्य देशमै आश्रयस्थलको व्यवस्था गर्न पनि सुझाव दिइएको छ । यो बेला क्वारेण्टीनमा बस्दा होस् या काम गर्दा श्रमिकलाई कोरोनाको डर र विभिन्न कारणले मनोसामाजिक समस्या हुने भएकाले परामर्शसमेत दिनपर्ने सुझाव दिइएको छ ।

उडान र टिकटको व्यवस्था गर्नुपर्ने, कोरोना जाँच गर्नुपर्ने, श्रमिक बसिरहेको ठाउँबाट विमानस्थलसम्म ल्याउने व्यवस्था र यात्राको दौरानमा अपनाउनुपर्ने सुरक्षाको उपायका बारेमासमेत जानकारी दिनेगरी पूर्वतयारी गर्न अध्ययनले सुझाव दिएको छ ।

स्वदेश फिर्तापछि गर्नुपर्ने काम

विदेशबाट फर्किएकालाई व्यवस्थापनका लागि सबैभन्दा पहिला त विमानस्थलमा स्वास्थ्य डेस्क, कोरोना विशेष परीक्षण स्थल, अस्थाइ क्वरेण्टीन, शंकास्पदलाई अस्पताल र आइसोलेसनमा राख्नपर्ने, र्‍यापिड टेस्टमा नेगेटिभ देखिएकालाई सम्बन्धित प्रदेश वा पालिकामा हस्तान्तरण गरी पालिकास्तरमै क्वारेण्टीनको व्यवस्था हुनुपर्ने सुझाव दिईएको छ ।  विदेशबाट फर्किएको व्यवस्थापनका लागि तीनै तहका सरकारले एकआपसमा समन्वय गरी व्यवस्थापन गर्नुपर्नेमा अध्ययनले जोड दिएको छ । अहिले सरकारले घर फिर्तीको गृहकार्यसँगै वैकल्पिक अवसरको खोजी भइरहेको जनाएको छ । श्रमिकलाई फर्कनासाथ तत्काल काममा लागाउन सकिने क्षेत्रको पहिचान भइरहेको छ । तर यसरी फर्काउँदा गन्तव्य देशसँग पनि समन्वय गर्नुपर्ने प्रतिवेदनमा जोड दिइएको छ ।



ट्रेन्डिङ