कोरोना भाइरसको अन्त्य नहुन पनि सक्छ – विश्व स्वास्थ्य संगठन

कोरोना भाइरसको अन्त्य नहुन पनि सक्छ – विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठन WHO ले कोरोना भाइरसको अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । बिबिसीका अनुसार डब्ल्युएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा यस्तो चेतावनी दिएका हुन् । खोप पत्ता लागे पनि नियन्त्रणमा निकै ठूलो प्रयास आवश्यक हुने विश्व स्वास्थ्य संगठनको अनुमान छ । बिना कुनै खोप रोग प्रतिरोधी क्षमताको विकास उपयुक्तस्तरमा पुग्न वर्षौं लाग्न सक्ने उनले बताएका छन् ।

अहिले विश्वभर कोरोना भाइरसको खोप पत्ता लगाउन १ सय प्रकारका खोप निर्माणका प्रयासहरू भइरहेका छन् । विशेषज्ञहरूले प्रयास भइरहेका कुनै पनि खोपको निर्माण हुन नसक्ने आशंका व्यक्त गरेका छन् । अहिले विश्वका धेरै मुलुकहरूले लकडाउन खुकुलो पार्दै गएको अवस्थामा डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानमले यसले कोरोना भाइरसको संक्रमण अझै तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएका छन् । डब्ल्यूएचओले अझै पनि विश्वका सबै मुलुकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

विश्व स्वास्थ्य संगठनकी महामारी रोग विशेषज्ञ मारिया वेन केरखोवेले पनि यो महामारीबाट बाहिर आउन निकै लामो समय लाग्ने बताएकी छन् । उनले मनस्थिति बलियो बनाउनु पर्नेमा जोड दिएकी छन् । संसारभर कोरोना भाइरसको संक्रमणबाट संसारभर ३ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ । ४३ लाख भन्दा धेरै संक्रमित भएका छन् ।



ट्रेन्डिङ