उपमेयरले नै भरतपुर कोरोना अस्पतालको घटना छानविन गर्न असहयोग गरेको नेकपा सम्वद्ध वडाअध्यक्षहरुको आरोप

उपमेयरले नै भरतपुर कोरोना अस्पतालको घटना छानविन गर्न असहयोग गरेको  नेकपा सम्वद्ध वडाअध्यक्षहरुको आरोप

भरतपुर ३१ बैशाख । भरतपुर महानगरका नेकपा सम्वद्ध वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले कोरोना अस्पतालमा भएको घटनाको छानविनमा असहयोग गरेको आरोप लगाएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम उप–प्रमुख पार्वती शाह ठकुरीकै नेतृत्वमा रहेको न्यायिक समिति तथा अनुगमन समितिले यथासक्य छिटो उक्त घटनाको छानबिन गरी सत्य, तथ्य बाहिर ल्याउनुपर्नेमा महानगरको कार्यक्रममै सहभागि नभई असहयोग गरेको उनीहरुको आरोप छ ।

न्यायिक निरूपणको प्रक्रियामा रहेको घटनालाई अतिरन्जित नगरी महानगरपालिकाको समग्र विकास र वार्षिक कार्यक्रमलाई सहजता प्रदान गर्नुका साथै महानगरपालिकाका सम्पूर्ण गतिविधिमा अवरोध नगरी आइपरेका समस्याहरू कार्यपालिकाकै बैठकमा दफावार छलफल गरी निचोडमा पुग्न आह्वान गर्दै नेकपा सम्बद्ध जनप्रतिनिधिहरुले विज्ञप्ति जारी गरेका छन् । यसअघि कांग्रेस सम्बद्ध जनप्रतिनिधिहरुले विज्ञप्ति जारी गरी महानगरपालिकाले उक्त घटनाको छानविन गर्न नचाहेको आरोप लगाएका थिए । उनीहरुले घटनामा संलग्नलाई निलम्बन गर्न माग गर्दै महानगरका सम्पूर्ण कार्यक्रमहरु बहिस्कार गर्दै आएका छन् ।

विज्ञप्तिमा उनीहरुले महानगरका सबै काम र आइपर्ने समस्याको समाधान सहमति र सहकार्यबाट गर्नुपर्ने बताएका छन् । उपमेयर र कांगेसवाट निर्वाचित वडाअध्यक्षहरु कोरोना अस्पतालको विषयलाई लिएर आन्दोलन गरिरहेको समयमा सबै विषयको समाधान आन्दोलनवाट नभई सहमति र सहकार्यवाट गर्न उनीहरुले माग गरेका छन् । महानगरका प्रवक्ता सहित नेकपावाट विजयी वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले जारी गरेको विज्ञप्तिमा महानगरबासीहरुलाई जोगाउन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको संयोजकत्वमा प्रमुख राजनीतिक दलहरु, निजी क्षेत्र लगायत सरोकारवालाहरु समेतको सहभागितामा कोरोना नियन्त्रण कार्यदल गठन गरी ७२ घण्टाभित्र भरतपुर कोरोना विशेष ९अस्थायी० अस्पताल चैत ७ गते र भरतपुर कोरोना परीक्षण प्रयोगशाला स्थापना भई चैत २३ गतेदेखि सेवा प्रवाह गरिरहँदा संचारका माध्यममा आएका सिसिटिभि फुटेजप्रति यसअघि नै महानगरको ध्यानाकर्षण भई कानुनी प्रकृयामा रहेकोले महानगरकै उपमेयर र केही वडा अध्यक्षले गरेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाइएको छ।

हाल उक्त मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र चितवन जिल्ला प्रशासन कार्यालयमा छानविनको प्रक्रियामा रहेको अवस्थामा नेपाली कांग्रेससम्बद्ध भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरू, उप–प्रमुख लगायत वडा अध्यक्षहरूले यस घटनालाई लिएर सडकमा नाराबाजी गर्ने, ज्ञापनपत्र बुझाई महानगरपालिकाको कुनैपनि औपचारिक कार्यक्रममा सहभागी नहुनेसम्मका भाषा प्रयोग गरी मिति २०७७ वैशाख २९ गते मंगलबार प्रकाशित विज्ञप्तिप्रति उनीहरुले निन्दा व्यक्त गरेका छन् ।



ट्रेन्डिङ