दुवाकोटका स्थानीयको स्वास्थ्य परीक्षण गर्न पूर्वगृहमन्त्री रावलको आग्रह, कारोना अरुमा पनि देखिन सक्ने आशंका

दुवाकोटका स्थानीयको स्वास्थ्य परीक्षण गर्न पूर्वगृहमन्त्री रावलको आग्रह, कारोना अरुमा पनि देखिन सक्ने आशंका

काठमाडौं ३१ बैशाख । पूर्वगृहमन्त्री भीम रावल भक्तपुरको दुवाकोटतिर बसोबास गर्नेहरुको स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन् । रावलका सुरक्षा गार्ड सोही ठाउँमा बस्दै आएका छन् । आफुले कोरोना परीक्षण गरिसकेको भन्दै नेता रावलले स्थानीय समुदायमा कोरोना सरेको हुन सक्ने भन्दै तत्काल परीक्षण गर्न आग्रह गरेका हुन ।

तपाईका सुरक्षा गार्डलाई कारोना संक्रमण भएको हो भन्ने प्रश्नमा रावलले भने, ‘उनी दुवाकोटतिर बस्दै आएका थिए, त्यहीँबाट सरेको हुन सक्छ । अब त्यो एरियाका अरु मानिसहरुमा तत्काल परीक्षणको दायरा बढाउनुपर्छ । मंगलबार साँझको रिपोर्टअनुसार कोरोना पोजेटिभ देखिएका ती सुरक्षाकर्मी एक महिनादेखि बिदामा बसेका कारण आफूसँग सम्पर्कमा नरहेको रावलको भनाई छ । ‘उनी श्रीमती बिरामी भएको भन्दै एक महिनादेखि घर गएका थिए,’ पूर्वगृहमन्त्री रावलले भने, ‘अस्ति श्रीमती निको भइन्, ड्युटीमा आउँछु भनेर फोन गरेका रहेछन, कोरोना जाँच गराएर मात्रै आउनू भन्दिएको थिएँ, जचाँउन जाँदा पोजेटिभ देखिएछ ।’

अब ती सुरक्षाकर्मीको सम्पर्कमा आएका भक्तपुरका अरु मानिसहरुको पनि जाँच गर्नुपर्ने र उनमा कोबाट संक्रमण भयो भन्ने पत्ता लगाउनुपर्ने रावलले बताए । उनले भने, ‘अब दुवाकोटतिर टेस्ट बढाउनुपर्ने देखियो ।’ प्रतिनिधिसभा सदस्य समेत रहेका रावलको यसैसाता पीसीआर टेस्ट भइसकेको छ । आफूमा कोरोना संक्रमण नरहेको बताउँदै रावलले भने, ‘२६ गते संसद बैठकको पूर्वसन्ध्यामै टेस्ट नगरी बैठकमा जानै पाइँदैनथ्यो । त्यहीबेला मेरो पनि जाँच भइसकेको छ र नेगेटिभ रिपोर्ट आएको छ ।

अहिले आफूसँग धेरैजना सुरक्षाकर्मीहरु नरहेको र ड्युटीमा रहेकाले पनि सामाजिक दूरी एवं स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरिरहेको रावलले बताए ।



ट्रेन्डिङ