मडिकल कलेजहरु आर्थिक चपेटामा, सरकारसँग राहत माग्दै

मडिकल कलेजहरु आर्थिक चपेटामा, सरकारसँग राहत माग्दै

चितवन ३० बैशाख । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण ठूला मेडिकल कलेज सन्चालकहरुले आर्थिक संकटमा परेको बताएका छन् । बिरामी नै आउन छाडेकाले आर्थिक संकटमा परेको भन्दै मेडिकल कलेज सञ्चालकहरुले सरकारसँग राहत माग गरेका छन् ।

देशभर १८ वटा मेडिकल कलेज छन् । हरेकजसो मेडिकल कलेजमा दैनिक करीब १५ सय बिरामीले उपचार सेवा लिने गरेकोमा हाल दैनिक १५० देखि दुईसय मात्रै बिरामी आउने गरेका छन् । एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष एवम् वीरगञ्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक बसुरुद्धिन अन्सारीले लकडाउनका कारण मेडिकल कलेजहरु कोरोनाका कारणले सबैभन्दा बढी संकटमा परेको बताए । उनले पहिलेको तुलनामा अहिले २० प्रतिशतभन्दा कम बिरामी आउने गरेको बताए । सोही अनुपातमा मेडिकल कलेजहरुले आम्दानीसमेत गुमाएका छन् । अध्यक्ष अन्सारीले भने, ‘मेडिकल कलेजको खर्च बढ्यो, आम्दानी घट्यो, अहिले पीपीई र मास्क सबै स्वास्थ्यकर्मीलाई दिनुपर्ने हुनाले खर्च बढेको छ ।’

आर्थिक संटमा परेको भन्दै मेडिकल कलेज सञ्चालकहरुले आम्दानी करमा छुट, उपकरण औजार खरिदमा कर छुट दिएर राहत दिनुपर्ने माग गरेका छन्
अन्सारीले राज्यले तोकिएको मापदण्ड पूरा गर्दा भवन भब्य देखिए पनि तनाव र ऋणको कथा कसैले नदेखेको बताए । उनले कलेजमा गत वर्ष यो समयमा १६ सयसम्म बिरामी उपचारका लागि आउने गरेको तर अहिले ४ सयको हाराहारीमा मात्रै आएको बताए ।

‘मेडिकल कलेजहरुमा रहेका चिकित्सकहरु पूर्णकालीन हुन्छन्, उनीहरुलाई बिरामी जाँचेको आधारमा पैसा दिने कुरा हुँदैन,’ चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले भने, ‘निजी अस्पताल र मेडिकल कलेजको अवस्था फरक छ, निजी अस्पतालमा बिरामीका आधारमा रकम दिने हो, बिरामी नभएपछि दिनुपरेन, तर मेडिकल कलेजले दिनुपर्छ ।’ उनले मासिक तलबमा ६ करोड, अप्रेसनलमा ४ करोड र सावाँ व्याज मासिक ३ करोड बुझाउने गरेको बताए ।

एक मेडिकल कलेजमा करीब तीन सय करोड लगानी हुने गरेको सन्चालकहरु बताउँछन् । लकडाउन अगाडिसम्म बिरामीको उपचारबाट मात्रै मेडिकल कलेजहरुले दैनिक करीब ३० लाख हाराहारी कमाउने गरेको बताइन्छ । यो कमाइ विद्यार्थीहरुबाट लिने शुल्कबाहेक हो ।

अहिले कलेजको आम्दानी घटेर दैनिक चार लाखको हाराहारीमा रहेको चितवन मेडिकल कलेज सञ्चालक डा. न्यौपाने बताउँछन् । ‘विद्यार्थीबाट समेत पैसा माग्ने र उठाउन सक्ने अवस्था छैन,’ डा. न्यौपानेले भने, ‘यसरी त कति दिन चल्न सकिन्छ र ?

चितवनकै कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का निर्देशक डा. मनोहर प्रधान अहिलेकै अवस्था थप दुई महिना लम्बिए मेडिकल कलेज चलाउन नसकिने बताउँछन् । उनका अनुसार पुरानो मेडिकल कलेजमा पहिला दैनिक झण्डै ९ सय बिरामी ओपीडीमा आउने गरे पनि अहिले तीन सयको हाराहारीमा मात्रै आउने गरेका छन् । ‘साधारण ओपीडी बिरामीको मात्रै भरमा त खर्च व्यवस्थापन हुँदैन, अहिले ठूला अप्रेशन लगायतका काम भएको छैन,’ निर्देशक डा. प्रधानले भने, ‘मेडिकल कलेजमा हुने खर्च घटेको छैन, तर आम्दानी छैन । यही अवस्था रहे ठूलो संख्यामा कर्मचारी कटौती गर्नुपर्दछ ।’ पुरानो मेडिकल कलेजमा १२ सय ५० स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।

देशभरका मेडिकल कलेजमा करिब २७ हजार कर्मचारीहरु कार्यरत छन् । कोरोनाका कारण आर्थिक संटमा परेको भन्दै मेडिकल कलेज सञ्चालकहरुले सरकारसँग राहत माग गरेका छन् । आम्दानी करमा छुट, उपकरण औजार खरिदमा कर छुट दिएर राहत दिनुपर्ने माग उनीहरूको छ । उनीहरुले बाषिर्क ४० करोड बराबरका उपकरणहरु ल्याउने गरेका छन् । बैंकको ब्याजमा केही महिनाको छुट गरेर सावाँ भुक्तानीको अवधि पछाडि धकेल्नुपर्ने माग कलेज सञ्चालकको छ ।



ट्रेन्डिङ