चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान विस्तार गर्दै

चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान विस्तार गर्दै

रत्ननगर २९ बैशाख । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणका लागि घाँसे मैदान व्यवस्थापनलाई प्राथमिकता दिएर काम गरेको छ । आहारको खोजीमा गैँडालगायत अन्य दुर्लभ वन्यजन्तुहरु गाउँ पस्न थालेपछि निकुञ्जले बासस्थान सुधार र घाँसे मैदान व्यवस्थापनको काम लकडाउनमै अगाडि बढाएको हो ।

निकुञ्जले चालू आर्थिक वर्षमा ७०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान विस्तार र व्यवस्थापनको काम गरिरहेको छ । घाँसे मैदान घटेपछि वन्यजन्तुलाई आहारको अभाव भएपछि निकुञ्जले चालू आर्थिक वर्षमा ६०० हेक्टर घाँसे मैदान विस्तारको काम सुरू गरेको छ भने १०० हेक्टर साबिकको घाँसे मैदानलाई व्यवस्थापन गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।

निकुञ्जले पहिलोपटक घाँसे मैदान व्यवस्थापनका लागि निजी क्षेत्रको सहयोग पनि लिएको छ । पर्यटकीय नगरी सौराहामा रहेका सामुदायिक वन, पर्यटन व्यवसायीसँग सम्बद्ध संघसंस्थाहरुले घाँसे मैदानको काम गरेका छन् । घाँसे मैदान व्यवस्थापनका लागि स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिका वडा नं ६ र ७ को कार्यालयले पनि आर्थिक सहयोग गरेका छन् । त्यसैगरी, सौराहाका संरक्षणकर्मीहरुले पनि निकुञ्जको घाँसे मैदान व्यवस्थापनका लागि आर्थिक सहयोग गरेका छन् ।

निकुञ्जसँगको सहकार्यमा सौराहामा रहेको निकुञ्ज जिप सफारी प्रालि र सौराहा हात्ती तथा जिप बुकिङ सेन्टरको अगुवाइमा निजी क्षेत्रले ९० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम गरेका छन् । निजी क्षेत्रले निकुञ्जको पदमपुरदेखि चररा खोलासम्मको क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम गरेका छन् ।

यता, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले निजी क्षेत्रसँग सहकार्य गरी निकुञ्जमा घाँसे मैदान व्यवस्थापनको काम गरिरहेको छ ।

निकुञ्जले चालू आर्थिक वर्षमा ७०० हेक्टर घाँसे मैदान व्यवस्थापन र विस्तार गर्ने योजनाअनुसार अहिले काम भइरहेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताए । अहिलेसम्म साबिकको १०० हेक्टर घाँसे मैदान व्यवस्थापन र ३०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान विस्तार भएको उनले बताए । निकुञ्जका विभिन्न १८ वटा क्षेत्रमा भेल्दरका रुखहरु कटान गरी घाँसे मैदान विस्तारको काम भइरहेको उनले जानकारी दिए । रुख काट्दा पनि निकुञ्जलाई असर नपर्ने क्षेत्रको पहिचान गरिएको छ ।

निकुञ्ज स्थापनाकालमा २० हजार हेक्टर रहेको घाँसे मैदान घटेर अहिले १० हजार हेक्टरमा सीमित भएको छ, जसका कारण गैँडालगायतका वन्यजन्तुहरु आहारको खोजीमा भौँतारिनुपर्ने अवस्था आएको छ । घाँसे मैदानलाई पुरानै अवस्थामा फर्काउन निकुञ्जले पञ्चवर्षीय योजना बनाएर काम सुरू गरेको छ । ‘पाँच वर्षभित्र घाँसे मैदानलाई पूर्ववत् अवस्थामा ल्याउन हामीले महाअभियान सुरू गरेका छौँ’, प्रमुख संरक्षण अधिकृत रुपाखेतीले भने, ‘यसमा पर्यटन व्यवसायी, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको आवश्यकता छ ।’

निकुञ्जले ३ करोड ५० लाखको लगानीमा ६०० हेक्टर घाँसे मैदान विस्तार सुरू गरेको हो । घाँसे मैदानलाई पूर्ववत् अवस्थामा फर्काउन ठूलो लगानी आवश्यक रहेको भन्दै प्रमुख संरक्षण अधिकृत रुपाखेतीले यसका लागि समुदायको साथ चाहिएको बताए । सन् २००५ मा घाँसे मैदान भएको निकुञ्जको क्षेत्रमा सन् २०१५ सम्म आइपुग्दा सो क्षेत्र जंगलमा परिणत भएको कारण घाँसे मैदान व्यवस्थापनमा चुनौती थपिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए ।

घाँसे मैदान विस्तार र व्यवस्थापनको विषयमा निकुञ्जले आइतबार स्थानीय सरकार र पर्यटन व्यवसायीहरुसँग अन्तक्र्रियासमेत गरेको छ । निकुञ्जका वन्यजन्तुको कारण चितवनको पर्यटन फस्टाएको भन्दै सरोकारवालाहरुले अब वन्यजन्तुको बासस्थान र आहार व्यवस्थापनका लागि निकुञ्जलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले वन्यजन्तु जोगाउने काममा स्थानीय सरकार लगानी गर्न तयार रहेको बताए । ‘हामीले निकुञ्जमा ताल बनाएका छौँ’, उनले भने, ‘अब घाँसे मैदान व्यवस्थापन र बासस्थान सुधारका लागि पनि काम गर्न लालायित छौँ ।’

कार्यक्रममा सौराहा हात्ती तथा जिप बुकिङ सेन्टरका सचिव राममणि खनालले निजी क्षेत्रले घाँसे मैदान व्यवस्थापनका लागि गरेको काम र निकुञ्ज जिप सफारी प्रालिका अध्यक्ष टीकाप्रसाद कँडेलले घाँसे मैदान व्यवस्थापनमा भएको आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका थिए । सौराहाका पर्यटन व्यवसायीले स्थानीय संघसंस्थासँग सहयोग जुटाएर चालू आवमा निकुञ्जमा करिब १००० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम गर्ने योजना बनाएको सचिव खनालले जानकारी दिए ।



ट्रेन्डिङ