विवाद समाधानका लागि नेपालको प्रस्ताव भारतले वेवास्ता गर्‍यो : मन्त्री ज्ञवाली

विवाद समाधानका लागि नेपालको प्रस्ताव भारतले वेवास्ता गर्‍यो : मन्त्री ज्ञवाली

काठमाडौ २८ बैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भूभागमा भारतीय पक्षले सडक निर्माण गरिरहेका बारेमा नेपाल सरकारलाई जानकारी भएको बताएका छन्। यस विषयमा सरकारलाई थाहा भएपनि नेपालका तर्फबाट पटक पटक भारतीय पक्षसँग छलफलका लागि भएका प्रयास सफल हुन नसकेको उनले बताए। आइतबार संसद बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले यसबारेमा नेपालका तर्फबाट वार्ताका मिति प्रस्तावित गरेको र जुन सुकै तहमा पनि कुरा गर्न तयार रहेको जानकारी गराएपनि भारतले वेवास्ता गरेको उनले बताए।

भारतले सन २००५ मा नै उक्त सडक निर्माणको निर्णय गरेको र २००८ देखि उक्त परियोजना औपचारिक रुपमा सुरु भएको मन्त्री ज्ञवालीले संसदलाई जानकारी गराएका छन्। सन २०१४ देखि उक्त सडक निर्माण प्रक्रियाले नयाँ गति लिएको घटना क्रमले प्रष्ट पारेको मन्त्री ज्ञवालीको भनाइ थियो।

भारतले २ नोभेम्बर २०१९ मा आफ्नो राजनीतिक नक्सामा नेपालको भूभाग प्रकाशित गरेको थियो। भारतीय निर्णयको विरुद्ध नेपाल सरकारले कुटनीतिक नोट समेत पठाएको थियो। यस विषयमा थप छलफलका लागि भारतलाई मिति प्रस्तावित गरेपनि भारतले त्यसको जवाफ नै नदिई नेपाली भूभागमा सडक निर्माण गरेको मन्त्री ज्ञवालीले जानकारी दिए। ‘भारतले हामीले प्रस्तावित गरेको मितिको जवाफ नदिई नेपाली भूभागमा सडक निर्माण गरेको छ, यसबाट हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्री ज्ञवालीले भने। उनले भारतीय विदेश मन्त्रालयका प्रवक्ताको विज्ञप्तिबारे जानकारी गराउँदै समस्याको समाधान कुटनीतिक माध्यबाटै गर्न सकिने बताए।

सन २०१५ मा नेपाल भूकम्पको राहत र उद्धारमा जुटिरहेका बेला भारत र चीनबीचमा संयुक्त वक्तव्यमा नेपालको लिपुलेकलाई दुई देशले अन्तराष्ट्रिय व्यापार मार्ग बनाउने निर्णय गरेपछि सरकारले असमति सहितको कुटनीतिक नोट बुझाएको उनले जानकारी गराए ।

मन्त्री ज्ञवालीले सरकार नेपालको सीमा सुगौली सन्धिबाट निर्दिष्ट हो भन्नेमा प्रष्ट रहेको बताउँदै नयाँ मुलुक फर्काउने गरी १८६० को अर्को पुरक सन्धि र १८७५ को सन्धिले नेपालको सीमा निर्धारण गरेको बताए। त्यसयता त्यो सीमालाई परिवर्तन हुने गरी दुई पक्षीय सीमा सन्धि नभएको बताउँदै नेपाल त्यही ऐतिहासिक तथ्य, सन्धि र भोगचलन गरेका तिरोहरुका आधारमा समस्या समाधान गर्ने मान्यतामा अडिग रहेको बताए।



ट्रेन्डिङ