बजार नपाउदा, ६२ बिगाहामा लगाईएको तरकारी खेतवारीमै कुहिन थाल्यो

बजार नपाउदा, ६२ बिगाहामा लगाईएको तरकारी खेतवारीमै कुहिन थाल्यो

मनोज चौधरी /पिविएम न्यूज 
शुक्रनगर २७ बैशाख । भरतपुर महानगरपालिकाको वडा नं. २४, जगतपुर क्षेत्रमा कृषकहरुले लगाएको तरकारीले बजार नपाएपछि त्यतिकै कुहिएर खेर गएको छ । जगतपुरमा मात्रै ६२ विगहा क्षेत्रफलमा लगाइएको तरकारीले बजार नपाएपछि खेतवारीमै कुहिएर खेर गएको हो ।  केहि महिना अघि मात्रै त्यहाँका बासिन्दाले तरकारी खेती र व्यवसायको लागि ‘केरुङ्गा सामुहिक तरकारी कृषि फार्म’ दर्ता गरी ६२ बिगाहा जमिनमा बिबिध तरकारी खेती सुरु गरेका थिए ।

यो सरहानिय कार्यले गाउँका किसानहरु लाभान्वित हुने मात्र नभई देशभरि ताजा तरकारी उपलब्ध गराउन सकिने र देशको अर्थतन्त्रलाई पनि केहि हदसम्म सुदृढ बनाउनेमा विश्वस्त थिए । गाउँका किसानहरु प्रत्यक्ष लाभान्वित हुने आशाले यो सरहानिय कार्यमा छाक काटेर लगानी गरेका थिए । त्यहाँका किसानले ६२ बिगाहा माटोसंग पैठेजोरी खेलेर तरकारी फलाए, बिक्रिबितरण गर्ने तयारी गरे, तर बिडम्बना विश्व कोरोनाको आक्रन्तमा जकडियो ।
विश्व लकडाउन भएसंगै सबै किसानका पसिना माटोमै बिलिन भए । ५ बिगाहा भेण्टा, ३ बिगाहा काउली, २ बिगाहा बोडी, २ बिगाहा खुर्सानी र ४८ कट्ठा गोलभेडा बिक्री हुन नसकेर गह्रामै कुहिएका छन् । ६ बिगाहामा लौका, ३ विगाहामा चिप्ले भिण्डी, ६ बिगाहामा चिचिण्डा, ३ बिगाहामा करेला, ४ बिगाहामा फर्सी र अन्य जमिनमा लगाईएका बिभिन्न तरकारीहरु उक्त कृषि फार्मले बिक्री गर्नकोलागि गतिलो भाउ पाएको छैन ।

उक्त कृषि फार्मका अध्यक्ष हरिबाबु ढाकाल लगायत १३ सदस्यहरुले दिनरात नभनी उत्पादन भएका तरकारीहरु बिक्रीबितरण गर्न पहल गरिरहेका छन् । तर कोरोना लकडाउनको कारणले ति किसानले बुनेका सपना चकनाचुर भएको पिविएम न्यूजलाई जानकारी दिए ।  उक्त फार्मका सचिव श्रीराम भुजेलका अनुसार लक डाउनले तरकारी सखाप भएपछि निल्नु न ओकेल्नु जस्तै बनेको छ । यसखाले बिबिध समस्या गाउँ समुदायमा व्यापक छन् । यस्तायस्तै समस्या समाधानका लागि स्थानिय निकायको ध्यान जानु जरुरी छ ।
समस्यामा परेका किसानहरुले छिटोभन्दा छिटो राहत पाउन् । लकडाउनको बेलामा गाउँ समुदायका किसानहरुको समस्या पहिचान गरि रहतको व्यवस्था गरियोस् भनि स्थानिय सरकारलाई केरुङ्गा सामुहिक कृषि फार्मका अध्यक्षले सुझाव दिएका छन् ।



ट्रेन्डिङ