बेलायतमा ‘लकडाउन’ सिफारिस गर्ने प्राेफेसरले दिए राजीनामा

बेलायतमा ‘लकडाउन’ सिफारिस गर्ने प्राेफेसरले दिए राजीनामा

काठमाण्डौ २४ बैशाख । बेलायतमा लकडाउन सिफारिस गर्ने प्रोफेसर निल फर्ग्युसन आफैले सामाजिक प्रतिबन्ध व्यक्तिगत दुरी को पालना नगरेपछि पदबाट राजीनामा दिएका छन् । उनी कोरोनाको विषयमा बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् ।

आफ्नो राजीनामाको घोषणा गर्दै उनले भने, ुआफूले गलत गरेको म स्वीकार्छु । यस कारण म पदबाट हटेको हुँ । कोरोना महामारीबाट बच्न मैले सामाजिक प्रतिबन्ध र व्यक्तिगत दुरीलाई जोड दिँदै आएको थिएँ र आफैले त्यसलाई नजरअन्दाज गरेँ ।

लण्डनको डेली टेलिग्राफ अखबारले एउटा रिपोर्ट छापेको थियो, जसमा प्रोफेसर फर्ग्युसनले एक महिलालाई आफ्नो नजिक आउन दिएका थिए र त्यो सामाजिक प्रतिबन्धसम्बन्धी नियमको उल्लङ्घन थियो ।

प्रोफेसर फर्ग्युसन सेन्टर फर ग्लोबल इन्फेक्शन डिजिज एनालिसिसका निर्देशक हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य सङ्गठनलाई आफ्रिकामा इबोलादेखि लिएर अहिले महामारीको रुप लिइरहेको कोरोनासम्मको विषयमा सल्लाह दिन्छ ।

यही संस्थाले गएको जनवरीमा विश्वलाई कोरोनाको खतरासँग सचेत गराएको थियो । चिनियाँ अधिकारीहरुले वुहान केवल केही दर्जन व्यक्ति कोरोनाबाट सङ्क्रमित भएको बताइरहेको बेला यो संस्थाले कम्तीमा सयौँ व्यक्ति सङ्क्रमित भइसकेको बताएको थियो । प्रोफेसर निल फर्ग्युसनको टिमले नै आफ्नो अनुसन्धानको आधारमा बेलायतको तत्काल कुनै कदम नउठाए कोरोना भाइरसबाट झण्डै पाँच लाख व्यक्तिको ज्यान जाने बताएको थियो ।

उनकै सल्लाहमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गएको २३ मार्चमा लकडाउन घोषणा गरेका थिए । त्यसबेलादेखि निल फर्ग्युसन प्रोफेसर लकडाउनको नामले चर्चित भएका थिए ।



ट्रेन्डिङ