कोरोनाका कारण पर्यटन क्षेत्रमा २५ अर्ब ९० करोड हाराहारीको व्यापार घाटा

कोरोनाका कारण पर्यटन क्षेत्रमा २५ अर्ब ९० करोड हाराहारीको व्यापार घाटा

काठमाडौँ २४ बैशाख । कोरोनाको महामारीबाट जटिल अवस्था नफैलिएको भए यति बेला नेपाल २० लाख पर्यटक उतार्ने अभियान ‘भ्रमण वर्ष २०२०’ मनाइरहेको हुन्थ्यो । नेपालको अर्थतन्त्रलाई उथलपुथल पार्ने भनिएको सरकारको यो महाअभियानलाई साथ दिन अघिल्लो वर्षको दाँजोमा ८ लाख बढी पर्यटक ल्याउन देशभरका १ सय २९ तारे होटल यति बेला ‘फुल अकुपेन्सी’ मा चलिरहेका हुन्थे होलान् । तीसँगै पर्यटक स्तरीय ११ सय २५ वटा होटल पनि पर्यटकले भरिभराउ हुने थिए ।

तर दुर्भाग्य चैतयता नेपालको पर्यटन बजार सुनसान छ । पर्यटन विभागका अनुसार २६ सय ट्रेकिङ एजेन्सी बन्द छन् । झन्डै २० हजार टुर तथा ट्रेकिङ गाइड लकडाउनले घरभित्रै बस्न बाध्य छन् । ३ सय २४ वटा होमस्टेमा अतिथि छैनन् । ७३ वटा र्‍याफ्टिङ एजेन्सीले आफ्ना राफ्ट; डुंगा लाई गोदाममा थन्क्याएका छन् । नेपालमा पर्यटक ल्याउने ७ वटा जेट विमानसहित आन्तरिक उडान गर्दै आएका ५१ वटा जहाज ह्यांगरमा थन्किएका छन् । पर्यटकको उद्धार तथा चार्टर उडानमा जाने १० वटा हेलिकप्टर कम्पनीका ३३ वायुयानले पनि काम पाएका छैनन् । खासमा यी सबैको यतिबेला मुख्य व्यापारको सिजन हो ।

‘२ लाख ७२ हजार मानिस कामविहीन भएको हाम्रो अनुसन्धानले देखायो,’ नेपाल पर्यटन बोर्डका सीईओ डा। धनञ्जय रेग्मीले भने, ‘प्रत्यक्ष पर्यटन क्षेत्रको रोजगारीमा रहेका १ लाख ७५ हजार कर्मचारी–कामदार तथा सिजनमा मात्रै आबद्ध हुने ९७ हजार मानिसको तथ्यांक हो यो ।’ गत वर्ष नेपाल भम्रणमा आएका पर्यटकको संख्यासँग मात्रै दाँज्दा यो वर्ष कमी भएको ४ लाख पर्यटकका कारण कति घाटा भयो, यकिन तथ्यांक भन्न सकिने अवस्था छैन । तर बोर्डले हालै सरकारको निर्देशनअनुसार गरेको अनुसन्धानले २५ अर्ब हाराहारीको व्यापार कमी भएको देखाएको छ ।

‘यो वर्ष पर्यटनमा कति क्षति भनेर यकिन भन्न सकिने अवास्था छैन । किनकि महामारीको असर जारी छ । लकडाउन कायमै छ । सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा बन्द छ,’ सीईओ रेग्मीले भने, ‘तर नेपाल आउने पर्यटकको औसत बसाइ र खर्चका आधारमा २५ अर्ब ९० करोड हाराहारीको व्यापार गुमेको देखिन्छ ।’



ट्रेन्डिङ