“विवश थापा; नेपालका एक इन्नाेभेटिभ एडुकेटर एक्सपर्ट”

“विवश थापा; नेपालका एक इन्नाेभेटिभ एडुकेटर एक्सपर्ट”

कारी महतो-
चितवन २३ बैशाख । देशभरि लकडाउन शुरु भएपछि यो समयमा शिक्षकहरुले जुम एप्लिकेशन मार्फत आइसिटी सिक्ने, सिकाउने अभ्यास गर्न थालेका छन् । तर केहि त्यस्ता शिक्षकहरु पनि छन् जसले वर्षौदेखि विभिन्न एप्लिकेशन मार्फत शिक्षाको ज्योति फैलाइरहेका छन् ।

हेटौडाको एक विद्यालयमा कार्यरत शिक्षक विवश जंग थापा, सिन्धुलीका शिक्षक जगत आलेमगर, बाँकेका होमराज खड्का लगायत कैयौं शिक्षकहरु छन्, जसले वर्षौदेखि विभिन्न एप्लिकेसन सफ्टवेयर प्रयोग गरी अनलाईन मार्फत विद्यार्थीहरुलाई शिक्षण गर्दै आएका छन् । विवश जंग थापालाई माइक्रोसफ्ट कम्पनीले सन् २०१९ देखि २०२० सम्मका लागि इन्नोभेटिभ एडुकेटर एक्सपर्टको रुपमा सूचिकृत समेत गरेको छ । यस किसिमको एक्सपर्टहरु नेपालमा निकै थोरै छन् । यहाँ शिक्षक थापा बारे छोटो चर्चा गरिएको छ ।

सिन्धुली जिल्लामा जन्मेका विवश जंग थापा अहिले हेटौडाको बालजागृति युवावर्ष माविमा राहत शिक्षकको दरबन्दीमा रही अध्यापन गर्छन् । २०६४ सालमा हेटौडाको एक निजि विद्यालयको मन्टेश्वरी कक्षाबाट अध्यापन कार्य प्रारम्भ गरेका शिक्षक थापाले निजि विद्यालयमा सात वर्ष पढाए । त्यसपछि सामुदायिक विद्यालयको निमावि तहमा चार वर्ष अध्यापन गराएपछि हाल २ वर्षदेखि मावि तहमा शिक्षण गर्दै आएका छन् । गतवर्षदेखि उनले हेटौडा क्यापम्पसमा समेत शिक्षण गर्न थालेका छन् ।

उनले सन् २०१३ सालदेखि विभिन्न विश्वविद्यालयबाट अनलाइन कोर्षहरु अध्ययन गर्न थाले । केम्ब्रिज विश्वविद्यालय, एरिजोना विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालयबाट अनलाईन शिक्षा लिएर अनलाइनबाटै पढाउन थाले । विगत चार वर्षदेखि उनले विभिन्न एप्लिकेशन प्रयोग गरी अनलाईन शिक्षा दिदैं आएका छन् । उनले स्काइप, गोब्रन्च, आइसन, बिगब्लूबटन, जिट्सी मिट, जुम एप्प प्रयोग गरी अनलाइन शिक्षण गर्दै आएका हुन् । उनले स्थानीय बालबालिकालाई मात्र होइन, विदेशी बालबालिकाहरुलाई समेत नेपालमै बसेर शिक्षण गर्दै आएका हुन् । रसिया, पोर्चुगल, भारत, भियतनाम, चाइना, जापान, मलेसिया, थाइल्याण्ड, अमेरिका, कोरिया लगायत डेढ दर्जन भन्दा बढी देशका सानासाना बालबालिकाहरुलाई अनलाईनबाटै पढाएका छन् भने ती देशका विद्यार्थीहरु र आफ्ना विद्यार्थीहरु बीच भलाकुसारी तथा अन्तरक्रिया समेत गराउँछन् । गतवर्ष उनले अनलाइन मार्फत् नै साँस्कृतिक कार्यक्रम आयोजना गरेको बताउँछन् । त्यति मात्र नभई उनले नेपाली–भारतीय र नेपाली–कोरियन विद्यार्थी बीच नृत्य प्रतियोगिता समेत सम्पन्न गरेको बताउँछन् ।

शिक्षक थापा हाल प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय प्राविधिक समितिका सदस्य र नेपाल ईङ्लिश टिचर एशोसियसन मकवानपुरका आईसिटी सेल संयोजकको भूमिका निर्वाह गर्दै आईरहेका छन् । सूचनाप्रविधिमा शिक्षक थापाको अनलाइन शिक्षण विधि, क्रियाकलाप, शिक्षण सामग्रीको प्रयोग इत्यादि सम्बन्धि दक्षताको मुल्याङ्कन गरी सफ्टवेयर कम्पनीले उनलाई माइक्रोसफ्ट इन्नोभेटर एजुकेटर एक्सपर्ट २०१९–२०२० को सूचिमा राखेको हो ।
व्यस्त समयमा विदेशी बालबालिकाहरुलाई शिक्षण गर्दा के फाइदा हुन्छ भन्ने प्रश्नको जवाफमा उनी भन्छन् – “मैले अन्तर्राष्ट्रिय शिक्षकहरुबाट नयाँ कुराहरु सिक्ने मौका पाएँ ।” आफूले सिकेका ज्ञानसीपका अनुभवहरु हेटौडाका अन्य थुप्रै विद्यालयका शिक्षकहरुलाई समेत सिकाएकोे उनले बताए ।
सम्पूर्ण शिक्षकहरुलाई आइसिटी प्रयोग गर्ने सल्लाह दिदैं उनी भन्छन् – “सकारात्मक सोचका साथ थोरै विद्यार्थीहरुकै बीचबाट भए पनि शुरु ग¥यौं भने पनि भविष्यमा वैकल्पिक मार्ग पत्ता लगाउन सकिन्छ ।”



ट्रेन्डिङ