काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखियो, निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुग्यो

काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखियो, निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुग्यो

काठमाडौं २३ बैशाख। कोरोना भाइरस ( कोभिड १९) मुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।

तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ । उनको पाटन अस्पतालमै उपचार भइरहेको छ ।

यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ । मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।



ट्रेन्डिङ