१ करोड ९ लाख भारतीय रुपैयाँ सहित २ जना भरिया पक्राउ, हुण्डी कारोबारीको पैसा हुन सक्ने प्रहरीको दावी

१ करोड ९ लाख भारतीय रुपैयाँ सहित २ जना भरिया पक्राउ, हुण्डी कारोबारीको पैसा हुन सक्ने प्रहरीको दावी

विराटनगर २३ बैशाख । लकडाउनको समयमा भारतबाट अवैध रुपमा भित्रिएको एक करोड नौ लाख ६९ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले दुईजना भरियालाई नियन्त्रणमा लिएको छ । एकीकृत भन्सार जाँच चौकी विराटनगरमा भारतबाट प्रवेश गरेको खाली ट्रक चेकजाँच गर्ने क्रममा सशत्र प्रहरीले सो रकम बरामद गरेको हो ।

कोरोना संक्रमण रोक्न सरकारले नाकामा उच्च सतर्कता अपनाएको छ । नाकामा प्रवेश गरेका गाडीको पनि सूक्ष्म जाँच पछि मात्र नेपाल प्रवेश गर्न दिइन्छ । मंगलबार खाली भएका कारण भारतमा जाँच नभई नेपाल प्रवेश गरेको डब्लुबी ३७ ई ७६३५ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा रकम बरामद भएको सशत्र प्रहरी बल ३ नम्बर हेडक्वार गण मोरङका प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए ।

सो रकम हुण्डी कारोबारीले ल्याएको प्रहरी स्रोतको दाबी छ । नाकामा चेकजाँच गर्दा भारत सुपौलबाट आएको सो ट्रक विराटनगरबाट डाइपर लिएर काकडभिट्टा नाकाबाट फर्कने योजनामा रहेको प्रहरीको दाबी छ । प्रहरीले ट्रक चालक सिलगुडीका २८ वर्षका रविकुमार शर्मा र सहचालक मुजफ्फरपुका १८ वर्षका पप्पु कुमारलाई नियन्त्रणमा लिएको हो ।



ट्रेन्डिङ