उदयपुरका कोरोना संक्रमितमध्ये ६ जना निको भए, भोली डिस्चार्ज हुँदै

उदयपुरका कोरोना संक्रमितमध्ये ६ जना निको भए, भोली डिस्चार्ज हुँदै

उदयपुर २३ बैशाख । उदयपुरका कोरोना संक्रमितमध्ये ६ जना निको भएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराएका उनीहरूलाई ३ पटक परीक्षण गर्दा रिपोर्ट लगातार नेगेटिभ आएको अस्पतालले जनाएको छ । ५ चैतमा उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्के मस्जिदका १३ र त्यसपछि आसपासका १५ जना गरी २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको तीन पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरूलाई बुधबार डिस्चार्ज गर्ने तयारी गरिएकाे प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।कोरोनामुक्त भएकाहरूमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् । उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिनेछ । डिस्चार्ज हुने सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिने मन्त्रालयले जनाएको छ ।

१० वटा वेडरुम र १० वटा शौचालय भएको सो मस्जिदमा उनीहरूलाई राखिनेछ । पहिलो चरणमा अस्पताल भर्ना भएका १३ जनाको स्वाब परीक्षणमा ६ जनाको तीन पटक नेगेटिभ नतिजा आएकोले उनीहरू कोरोनामुक्त देखिएको अस्पतालका मेसु डा. संगिता मिश्राले जानकारी दिइन् । अन्य संक्रमितको पनि स्वाब परीक्षण भइरहेकाे छ । तीन पटकको परीक्षणमा नेगेटिभ देखिएकालाई डिस्चार्ज गरिने र पोजेटिभ देखिएकालाई अर्को १४ दिन अस्पतालमै राखिने उनले बताइन् ।

विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उदयपुरका २८ सहित ३१ जना उपचाररत छन् । तीमध्ये १२ जना भारतीय हुन् ।



ट्रेन्डिङ