तरकारीले बजार नपाएपछि उत्पादन भैसीलाई खुवारहेकोछु – अन्तरवार्ता

तरकारीले बजार नपाएपछि उत्पादन भैसीलाई खुवारहेकोछु – अन्तरवार्ता

भरतपुर महानगरपालिका वडा नं. २५, शुक्रनगरमा स्थायी वसोबास गर्ने भोजराम महतो एक कृषक हुन् । उनको दैनिकी खेतवारीमै वित्ने गरेको छ । सुरुवाती कालमा कुखुरा पालक कृषकको पहिलो सूचिमा परेका भोजरामले उक्त पेशालाई चटक्क छोडेर आजकाल तरकारी खेतीमा व्यस्त छन् । नमुना कृषि फार्म दर्ता गरी ४ बिगाहा जमिनमा उनले व्यवसायिक तरकारी खेती गरेका हुन् । अहिले उनको जमिनमा लटरम्मै फलेका काक्रा, गोलभेडा, खुर्सानी, करेला, आदि देख्न सकिन्छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीले गर्दा विश्व लकडाउनमा छ । तरकारी बजार व्यवस्थापनमा पनि यो लकडाउनले निकै प्रभाव पारेको छ । तर कृषक भोजराम सहित परिवारका ५ सदस्य तरकारी बारीमा व्यस्त छन् । उनको यही व्यस्ततालाई शब्दमा परिणत गर्दै उहाँसंग हामीले भलाकुसारी गरेका छौं । यसर्थ, पाठकलाई केही हदसम्म तरकारी व्यवसायको बारेमा जानकारी हुने विश्वास लिएकाछौं । तरकारी बारीमै पुगेर पिविएम न्यूजकर्मी मनोज महतोले लिईएको अन्तरवार्ताको केहि अंशहरु पढौं ।

प्रश्न १. आजकाल दिनाचार्य कसरी व्यतित गर्दै हुनुहुन्छ ?
उत्तर – ‘यी यस्तै त हो दुखियारी जीनगी ।’ काक्रा टिपेर ढकियामा राख्दै भने । अनि फेरि थपे – ‘एकछिन फुर्सद हुन्न । किसानको मर्म कल्ले बुझ्ने ! तरकारी क्रान्तिमा व्यस्त छु भनौं ।’

प्रश्न २. लकडाउनले तपाईँलाई घरभित्र बाधेनँ ?

उत्तर -‘गाउँघरमा के को लकडाउन ! साबधानी अपनाएर काम गर्दैछौं ।
प्रश्न ३. तरकारी व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
उत्तर –  ‘मेहनत गरेर तरकारी फलाइयो । बजार पठाउने बेलामा कोरोना कहरले लकडाउन भयो । काक्रो फलेपछि टिप्नै प¥यो । त्यसै छोडेर भएन । दुईटा भैंसी पालेको छु । भैसीलाई काक्रो ख्वाईया’छ । क्यार्नु ! तरकारीको भाउ ह्वात्तै खस्क्यो । दिक्क भएर अन्य तरकारी टिप्नै छोडेको छु । बेलाबेलामा बिचौलिया आउछन्, जिस्क्याउछन् । छिमेकीले खिस्याउछन् । सरकारले लोप्राई रहेको छ । खै त किसानलाई राहत ? यही पेशाको लागि बैंकबाट ऋण काढेर तरकारी खेती सुरु गरियो । अहिले हालत यस्तो छ । अब बैंकको ब्याज कसरी तिर्ने ? टन्टोले सताईरा’छ ।’

प्रश्न ४. कोरोना भाइरसको बिगबिगी र होम लकडाउन भएको अवस्थालाई मनन गर्दै सरकारले कृषकलाई पनि राहत देला नी त ?
उत्तर – ‘एक परिवारलाई जम्मा दुईटा माक्स र एउटा साबुन बाड्ने सरकारसंग के आश गर्नु । बैंक ब्याज मिनाहा गर्दिए त हुन्थ्यो के रे !’
प्रश्न ५. अनि कुखुरा फार्म किन छोड्नुभो त ?
उत्तर – ‘शुक्रनगरमा सम्भवतः सबैभन्दा पहिलो कुखुरा पालक किसान मै हुँ । त्यो बेलामा बर्डफ्लुले डुबायो । त्यसपछि लामै समय भाउ आएन । हैरान भएर चटक्कै छोडे । अनि वैदेशिक रोजगारतिर लागे । त्यहाँ पनि सोचेजस्तो भएन, घर फर्के । त्यसपछि नमुना कृषि फार्म दर्ता गरेर तरकारी खेती गर्दैछु ।’

प्रश्न ६. वास्तवमा, कृषकलाई नेपाल सरकारले नहेरेकै हो त ?
उत्तर – ‘भारतमा हेर्नुस्, किसानलाई कतिसम्म व्यवस्थित गरेको छ, त्यहाँको सरकारले । उताको खाद्यान्न, तरकारी, फलफुल नेपालभरि वितरण गर्छ । भरतिय खाद्यान्नले विश्वबजार पाएको छ । तर हाम्रो खाद्यान्न, फलफुल, तरकारीले विश्वबजार त के पाउनु, नेपाली बजारमा पनि गतिलो भाउ पाउदैन । कमसेकम, भारतिय कृषिजन्य वस्तुमा रोक लगाईदिए हाम्रा तरकारीले राम्रो भाउ पाउने थियो कि !’

प्रश्न ७. अन्त्यमा, भन्न मन लागेको केही छ ? जो मैले सोधिनँ ।
उत्तर – ‘कृषि प्रधान देश नेपाल हो भनेर लेखिन्छ, लेखाईन्छ, पढिन्छ, पढाईन्छ, सुनिन्छ, सुनाईन्छ तर किसानलाई कुनै सम्मान छैन । कृषक नहुँदो हो त शहरियाहरु भोकले पिल्सिन्थे सायद । फेरिपनि, यीनै गाउँले किसानहरु अपहेलित छन् । ठगिएका छन् । यो लकडाउनले पनि शहरियालाई केही पाठ अवश्य सिकाएको छ होला ! अहिले शहर खाली छ, गाउँ भरिभराऊ । त्यसैले, गाउँले किसानलाई र उनिहरुको उत्पादलाई ग्राह्यता दिऊ, सम्मान गरौं । नेपाली कृषिजन्य वस्तुहरुलाई पनि सहि व्यवस्थापनको लागि नेपाल सरकार समक्ष सबैले पहल गरौं । किसानहरु विरक्तिन नपरोस् । किसानको मुहारमा सधैं हासो खुसी र उमंग छाईरहोस् । जय कृषि, जय किसान ।’

 

 

 



ट्रेन्डिङ