कुवेतबाट ३५ सय नेपाली स्वदेश फर्कंदै

कुवेतबाट ३५ सय नेपाली स्वदेश फर्कंदै

काठमाडौँ २२ बैशाख । कुवेतले झन्डै ३५ सय गैरकानुनी हैसियतका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि गत बिहीबारदेखि आश्रय दिएर राखेको छ । उनीहरुलाई स्थानीय विद्यालय, कलेज र खेल मैदानमा राखिएको छ ।

कुवेतले गैरकानुनी हैसियतमा भएका कामदारलाई आममाफी दिएपछि स्वदेश फर्कन इच्छुक नेपाली कामदारलाई आश्रय केन्द्रमा राखिएको हो । नेपालीका लागि अप्रिल २६ देखि ३० सम्मको समय तोकिदिएको थियो । त्यो समयमा तोकिएको केन्द्रमा उनीहरु लगेजसहित आवेदन दिन पुगेका थिए । महिला र पुरुषलाई अलग–अलग आश्रयस्थलमा राखिएको छ ।

राहदानी नभएका झन्डै ३ हजार जनालाई नेपाली दूतावासले ट्राभल डकुमेन्ट जारी गरिएको थियो । राहदानी भएका झन्डै ५ सय सिधै आश्रय केन्द्र गएका थिए । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले नेपाल पठाउनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको बताए ।

कोरोना भाइरस नियन्त्रण गर्नका लागि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । नेपालले उडान अनुमति प्रदान गर्नासाथ कुवेतले आफ्नै खर्चमा चार्टर विमानमार्फत उनीहरुलाई नेपाल पठाउनेछ । गत फेबु्रअरी २९ सम्म भिसाको म्याद समाप्त भएका कामदार आममाफी प्रक्रियामा सहभागी भएका थिए । सहभागी हुने कामदारले जरिवाना तिर्नुपरेन भने उनीहरुले पुन ः कुवेत जान पनि पाउनेछन् ।

आश्रय केन्द्रमा बस्ने र खाने उचित प्रबन्ध छ । झापाका मञ्जु लावतीले आफूहरूलाई बास्केटबल खेल्ने हलमा राखिएको बताए । ‘भुइँमा काठ बिछ्याइएको छ, काठमाथि छुट्टाछुट्टै म्याट राखिएको छ, यो हलभित्र मात्रै ५ सयभन्दा बढी नेपाली होलान्, अन्य देशका महिला पनि छन्’, लावतीले भने ।

आश्रय केन्द्रमा एक दर्जन महिलाको साथमा बच्चाहरू पनि छन् । उनीहरूलाई एकै ठाउँमा राखिएको छ । सिन्धुपाल्चोककी डोल्मा तामाङको साथमा १८ दिनको शिशु र ५ वर्षकी छोरी छन् । उनी कुवेत पुगेको ८ वर्ष भयो । घरमा मालिक्नीबाट यातना भएपछि उनी भागेर घरबाट बाहिर निस्कइन । एक जना नेपाली ड्राइभरसँग उनीसँगै बस्न थालेकी थिइन् । घर फिर्ने बेला श्रीमान् सम्पर्कविहीन भएको उनले बताइन् ।

अहिले उनीसँग लाममा बस्दा पाएको केही दिनार मात्रै साथमा छ । ‘फर्बानियाको स्कुलमा लाममा बस्दा अन्य दिदीबहिनीले बच्चाका लागि भनेर केही पैसा उठाएर दिनुभएको थियो, त्यो पैसा मात्रै साथमा छ,’ उनले भनिन् ।

नुवाकोटकी ३५ वर्षीया महिलाको साथमा पनि दुई वर्षका छोरा छन् । उनले परिस्थतिले परदेशमा बच्चालाई जन्म दिनुपरेको वताइन् । ‘श्रीमान् बितेपछि कुवेत आएकी थिइन्, नेपालमा पनि दुईवटा बच्चा छन्, यहाँ पनि सम्बन्ध बस्यो । बच्चा जन्मियो । मलाई उहाँले नेपाल जाऊ, पछि म आउँछु भन्ने आश्वासन दिनुभएको छ,’ उनले भनिन्, ‘उहाँलाई पर्खेर बस्नुबाहेक मसँग अरू विकल्प छैन ।’



ट्रेन्डिङ