अनलाइनबाट शिक्षकहरुलाई आईसिटी तालिम

अनलाइनबाट शिक्षकहरुलाई आईसिटी तालिम

कारी महतो
खैरहनी ( चितवन ) २० बैशाख । शिक्षकहरु सबै विषयमा पोख्त हुनुपर्छ भन्ने आम बुझाइ छ । तर यथार्थमा त्यस्तो हुँदैन । कतिपय शिक्षकहरु समय अनुसार आफूलाई परिमार्जन गर्न सकेका छैनन् । अधिकांश शिक्षकहरुको चाहना हुँदाहुँदै पनि विभिन्न व्यवहारिक कठिनाईका कारणले परिवर्तिन हुन सक्दैनन् । त्यस्ता शिक्षकहरुलाई अहिलेको वर्तमान परिस्थितिमा प्रविधिमैत्री शिक्षक समाज नेपालले निःशुल्क अनलाइन आईसिटी तालिमको व्यवस्था गरेको छ । सूचना तथा सञ्चार प्रविधि बारे अनभिज्ञ रहेका शिक्षकहरुले लकडाउनको समयलाई सदुपयोग गर्दै त्यस सम्बन्धि ज्ञान तथा सीप सिकिरहेका छन् ।

धेरैजसो आधारभूत ज्ञान हासिल गरेका शिक्षकहरु अध्यापनको क्रममा आइपरेका समस्या समाधानका लागि अनलाइन आईसिटी तालिम लिईरहेका देखिन्छन् । लकडाउन शुरु भएसँग चैत्र १९ गतेदेखि प्रविधिमैत्री शिक्षक समाज नेपालले निःशुल्क अनलाइन तालिम शुरु गरेको संस्थाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका प्राविधिक संयोजक देवप्रसाद पण्डितले जनाएका छन् । वाग्मती प्रदेशका लागि संयोजक पण्डितले जुम एपबाट तालिमको होस्ट गर्दै आईरहेका छन् । आईसिटी तालिम हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुने गरेको संयोजक पण्डितले जनाएका छन् ।

अनलाइन तालिमकै क्रममा आज साझापुर माविका कम्प्युटर शिक्षक दुर्गा प्रसाद चौधरीले तालिमको सहजीकरण गरेका छन् । उनको सिकाउने शैलीबाट भर्खर कम्प्युटर प्रविधिमा प्रवेश गरेका शिक्षकहरुका लागि निकै फलदायी भएको सहभागीहरुले जनाएका छन् । कठिन समयमा पनि आईसिटी सम्बन्धि सीप सिक्न पाएकोमा निकै खुशी व्यक्त गर्दै काठमाडौबाट सहभागी एक शिक्षक हेरम्बराज कँडेलले सहजकर्ता चौधरीले निकै सरल तरिकाले सिकाएकोमा धन्यवाद ज्ञापन गरेका छन् । आजको तालिममा ८२ जना शिक्षकहरु सहभागी भएका थिए ।

सूचनाप्रविधिमा पछिपर्ने शिक्षकहरुले भविष्यमा निकै ठूलो नोक्सानी व्योहोर्नुपर्ने पूर्व श्रोतव्यक्ति रामकृष्ण लम्सालले बताएका छन् । केहिदिनदेखि नियमित रुपमा तालिममा सहभागी भैरहेका पूर्वश्रोतव्यक्ति लम्सालले सम्पूर्ण शिक्षकहरुले यो अनलाइन तालिम लिनका लागि अनुरोध समेत गरेका छन् ।

लकडाउन अवधिभरि इच्छुक सबै शिक्षकहरुका लागि शुरु गरिएको निःशुल्क अनलाइन तालिम कार्यक्रम लकडाउनपछि पनि निरन्तर अगाडि बढ्ने प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्यालले जनाएका छन् । तर लकडाउनपछि संस्थाको सदस्यता लिएका शिक्षकहरुलाई मात्र तालिममा प्रवेश दिइने अध्यक्ष बस्यालले बताए ।
आजको तालिम कार्यक्रम प्रविधिमैत्री शिक्षक समाज वाग्मती प्रदेशका वरिष्ठ उपाध्यक्ष कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।



ट्रेन्डिङ