दैनिक ३५ लाख रुपैयाँ नोक्सानी व्यहोर्दै पोल्ट्री किसान

दैनिक ३५ लाख रुपैयाँ नोक्सानी व्यहोर्दै पोल्ट्री किसान

काठमाण्डौं २० बैशाख । मुलुकमा आत्मनिर्भर बन्दै गरेको पोल्ट्री क्षेत्रले लकडाउनका कारण दैनिक न्यूनतम ३५ लाख रुपैयाँ नोक्सानी व्यहोर्दै आएको छ । व्यवसायीले कुखुरा बिक्री हुन छाडेपछि सित्तैमा बाँडेका छन् । मोरङको बेलबारी, रुपन्देहीको बुटवल, बाँके, कैलालीको धनगढीलगायत १० भन्दा बढी जिल्लाका किसानले बिक्री नभएका र दाना नपाएपछि चल्लालाई गाडेर नष्ट गरेका छन् । कतिपयले अत्यन्त न्यून मूल्यमा बिक्री गरेर खोर खाली गरेको बताएका छन् ।

ह्याचका अन्डा बिक्री हुन छाडेपछि सातामा ४२ लाख अन्डा र चल्ला नष्ट गरिएको व्यवसायीको भनाइ छ । लकडाउन बढ्दै गए कुखुरा, अन्डा, ह्याचरी, दाना सबै क्षेत्रमा नोक्सानीको दर अझ बढ्ने व्यवसायीको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनका कारण अत्यावश्यक उद्योग तथा सेवा क्षेत्रमा परेको असरबारे गरेको अध्ययनमा पोल्ट्री क्षेत्रले लकडाउनयता ९१२ वैशाखसम्म० १० करोड रुपैयाँ क्षति व्यहोरेको उल्लेख छ । पोल्ट्री उद्योग २० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको र लकडाउन लम्बिँदै जाँदा यो क्षेत्रले ठूलो क्षति व्यहोर्ने रिपोर्टमा उल्लेख छ ।

पोल्ट्रीका विभिन्न क्षेत्रमध्ये लेयर्सपालनमा ३० अर्ब लगानी छ । दाना उद्योगमा १ खर्ब २५ अर्ब र ह्याचरीमा १ खर्ब २० अर्ब रुपैयाँ लगानी रहेको व्यवसायी बताउँछन् । लकडाउन बढ्दै गए वा लकडाउनको स्वरूपमा परिवर्तन नगरे यो क्षेत्र माथि उठ्न नसक्ने व्यवसायीको भनाई छ ।

नेपाल अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीका अनुसार देशभर लेयर्स कुखुरा पाल्ने फार्महरू साना–ठूला गरेर करिब २ हजार ८ सय छन् । लेयर्स कुखुरा अन्डा उत्पादनका लागि पाल्ने गरिन्छ । यस्ता फर्ममा २ सयदेखि २ लाखसम्म लेयर्स पाल्ने किसान छन् । तर, समयमा दाना खुवाउन नसकेर किसानहरूले उत्पादन दिने वेलाका कुखुराहरू सित्तैमा वा अति न्यून मूल्यमा बिक्री–वितरण गरिरहेका छन् । यसले अन्डाको उत्पादनसमेत घट्दो छ ।

अन्डा उत्पादन ३० प्रतिशत घट्यो
सामान्य अवस्थामा देशभर ३५ लाख अन्डा उत्पादन हुँदै आएको थियो । अहिले घटेर दैनिक २५ लाख छ । १ सय ६० रुपैयाँमा किनेको चल्ला हुर्काएर अन्डा पार्ने वेलाको कुखुरा पाल्न नसकेर ५० रुपैयाँमा बिक्री गरेको चितवनका किसान टीकाराम ओझाले गुनासो गरे । उनले धमाधम अन्डा पारिरहेका करिब १ हजार ५ सय कुखुरा सस्तो तथा कतिपय सित्तैमा बिक्री गरेर अहिले खोर खाली गरेको बताए । व्यवसायीका अनुसार अहिले ३० प्रतिशत कुखुरा समयअगावै खोरबाट हटाउन किसान बाध्य छन् ।

ह्याचरीले प्रत्येक साता ४२ लाख अन्डा र चल्ला नष्ट गर्दै

पोल्ट्री क्षेत्रमा सबैभन्दा बढी मार चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगलाई परेको व्यवसायीको भनाइ छ । ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार नेपालभरिबाट ब्रोइलर, लेयर्स र कलर ब्रोइलरका गरी प्रत्येक साता ४२ लाख अन्डा र चल्ला नष्ट गर्नुपरिरहेको छ ।

ह्याचरी उद्योगले अन्डाका लागि आफैं प्यारेन्ट कुखुरा पालेका हुन्छन् । प्यारेन्ट कुखुराको अन्डा बजारमा बिक्रीका लागि ल्याइँदैन । सातामा करिब ५५ लाख अन्डा ह्याचका लािग उत्पादन हुने गरेका छन् । त्यसमध्ये ८० प्रतिशत अन्डाबाट चल्ला निस्किन्छन् । अन्डा ह्याचका लागि राखेको २२औँ दिनमा चल्ला निस्किन्छन् । व्यवसायीले सातामा दुईपटक चल्लाका लागि अन्डा ह्याचमा राख्ने गरेका छन् ।

सामान्य अवस्थामा व्यवसायीले सातामा ५० लाख चल्ला उत्पादन गर्ने गरेको संघको दाबी छ । अहिले अन्डा उत्पादनमा केही कमी आएकाले ४२ लाख ह्याचका लागि राखे पनि बिक्री नहुँदा नष्ट गर्दै आएको अध्यक्ष पोखरेलको दाबी छ । संघका अनुसार ब्रोइलर ३५ लाख, लेयर्स २ लाख र कोइलरका ५ लाख गरी कुल ४२ लाख चल्ला नष्ट हुने गरेका छन् । संघका अनुसार देशभर ३ सय ह्याचरी उद्योग छन् । एउटा उद्योगले कम्तीमा ५ हजारदेखि बढीमा ४ लाख चल्ला उत्पादन गर्छन्, तर अहिले बजारमा चल्ला खरिद–बिक्री नहुँदा आफूहरू नष्ट गर्न बाध्य भएको उनीहरू बताउँछन् । नेपालभर ह्याचरी उद्योगमा १ खर्ब २० अर्ब लगानी रहेको संघको दाबी छ । अध्यक्ष पोखरेलले यस क्षेत्रको क्षतिलाई न्यूनीकरण गर्न १ वर्ष ब्याज मिनाहा गर्नुपर्ने र क्षति भएका चल्लाको भरपाई राज्यले गर्नुपर्ने बताए ।

उधारोमा दाना नपाउँदा किसान खोर खाली गर्न बाध्य

एउटा कुखुरालाई सामान्यतया दैनिक १ सय १० ग्राम दाना आवश्यक पर्छ । लेयर्स कुखुराले पालेको ६ महिनापछि अन्डा दिन सुरु गर्छ । करिब १८ देखि २० महिनासम्म अन्डा दिन्छ । सप्लायर्सहरूले आफैँलाई अन्डा र कुखुरा बिक्री गर्नुपर्ने, नियमित रूपमा दाना, चल्ला आफूले व्यवस्थापन गरिदिने मौखिक सहमति किसानसँग गरेको हुन्छ, तर अहिले लकडाउनको कारण देखाउँदै सप्लायर्सहरूले नगदविना दाना दिन छाडेपछि किसानहरू कुखुरा खोरबाट हटाउन बाध्य भएका छन् ।

लेयर्समा मात्र ३५ अर्ब लगानी जोखिममा

लेयर्स कुखुरामा मात्र ३५ अर्ब लगानी रहेको संघको दाबी छ । यस्तो अवस्थामा किसानलाई राहतको प्याकेज ल्याउन नसक्ने हो भने किसान पेसाबाट नै पलायन हुने अध्यक्ष केसीको भनाइ छ ।

बैंकबाट पैसा लिएर व्यवसाय गर्नेहरूको तत्कालका लागि लिलामीदेखि ब्याज छुट गर्न संघले माग गरेको छ । ‘५० प्रतिशत लगानी राज्यबाट थपेर किसानलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘राष्ट्र बैंकलाई समेत अनुरोध गर्ने भएका छौँ ।’

उनका अनुसार अन्डाको माग भने खासै घटेको छैन । अहिले वितरण असहज हुँदा किसान समस्यामा परेको उनको बुझाइ छ । किसानहरूले साइकल, ठेलागाडामा नै भए पनि गाउँ–सहरमा अन्डा बिक्री गरिरहेको उनी बताउँछन् ।

ब्रोइलरपालक २ हजार किसान झन् समस्यामा

ब्रोइलर कुखुरापालक किसानहरूको समस्या पनि बढ्दै गएको कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेलले बताए । देशभरि २ हजारभन्दा बढी किसानले ब्रोइलर कुखुरापालन गरेका छन् । अहिले नयाँ चल्ला किसानले नहालेको र भएका कुखुरासमेत टोलछिमेकमै बाँडिदिएको उनले बताए । उनका अनुसार सामान्य अवस्थामा दैनिक ९ लाख किलो कुखुराको मासु बिक्री हुने गरेको थियो । अहिले भने कुखुरा अभावमा दैनिक २–३ लाख किलो कुखुराको मासु बिक्री हुन मुस्किल छ ।



ट्रेन्डिङ