रोल्पामा बम विस्फाेट, चार बालबालिकाको मृत्यु

रोल्पामा बम विस्फाेट, चार बालबालिकाको मृत्यु

रोल्पा १८, बैशाख ।
रोल्पामा भएको बम विस्फोटमा चारजना बालबालिकाको मृत्यु भएको छ । बिहीबार साँझ जिल्लाको त्रिवेणी गाउँपालिका– ७ गैरीगाउँमा भएको विस्फोटमा चारजनाको मृत्यु भएको प्रदेश ५ का प्रहरी प्रमुख डिआइजी रवीन्द्रसिंह धानुकले बताए ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया विमला डाँगी, पाँच वर्षीय विजय खत्री र वडा नम्बर ४ का १३ वर्षीय गौरव नेपाली छन् । ‘खेलौना ठानेर खेल्दा विस्फोटक पदार्थ भएको भन्ने छ,’ डिआइजी धानुकले भने, ‘इन्स्पेक्टरको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।’

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता नवराज पोखरेलले गाई बाख्रा चराउन गएका बच्चाहरुले बेवारिसे अवस्थामा रहेको बमलाई खेलौना ठानेर खेलाउन खोज्दा विष्फोट हुन गई चार बालिबालिको एकै साथ मृत्यु भएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले बेलुका ६ बजेतिर स्थानीय माईतेकापिना जंगलमा गाई बाख्रा चराउन गएका बालबालिकाले बेवारिसे अवस्थामा रहेको टुईञ्च मोटर बम चलाएपछि विस्फोट हुँदा दुःखद घटना भएको जानकारी दिए।

‘बेवारिसे अवस्थामा त्यहाँ दुईवटा टुईञ्च मोटर बम जंगलमा रहेछन्, त्यसमध्ये एउटालाई बच्चाहरुले खेलाउना ठानेर खेलाउँदै गर्दा अचानक विष्फोट भई उनीहरुको घटानास्थलमै मृत्यु हुन पुग्यो,’ डिएसपी गुरुङले भने।

 

घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी गएको हुँदा शवलाई प्राथमिक स्वास्थ्य चौकी होलेरीमा ल्याउन आग्रह गरिएको डिएसपी गुरुङले जानकारी दिए।

उक्त बम सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादीले छोडेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।



ट्रेन्डिङ