भरतपुर कोरोना अस्पताल चोरीकोे विषयबारे चितवन प्रशासनले थाल्यो सुक्ष्म अनुसन्धान

भरतपुर कोरोना अस्पताल चोरीकोे विषयबारे चितवन प्रशासनले थाल्यो सुक्ष्म अनुसन्धान

भरतपुर । जिल्ला प्रकाशन कार्यालय चितवनले भरतपुर कोरोना अस्पतालमा भएको चोरीको विषयलाई लिएर अनुसन्धान सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बाहिर कोरोना अस्पतालको चोरी प्रकरणको विषयमा प्रशासन आफैले पनि छानविन थालेको जानकारी दिए ।

अख्तियारले आफ्नो तरिकाले अनुसन्धान अघि बढाएपनि चितवन प्रशासनले ।पनि अनुसन्धान अघि बढाएको उनले जानकारी दिए । ‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट संस्थागत ढंगले लापरबाही गर्ने मनसाय भएको कसैको पनि देखिँदैन । यद्दपि चोरी या अपचलनमा सम्बन्धित कार्यालयका कर्मचारीको कमजोरी देखिए उनीहरु कानून अनुसार कारबाहीमा पर्छन् ।’–उनले भने ।

उनले पत्रकारहरुलाई निर्धक्क भएर समाचार सम्प्रेषण गर्न समेत आग्रह गरे । आज बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा पत्रकारहरुसँगको भेटमा प्रजिअ भट्टराईले भने–‘तपाईहरुलाई पत्रकार आचारसंहिता अनुसार समाचार सम्प्रेषण गर्न कसैले पनि रोक्न सक्दैन ।’ नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारहरु असुरक्षित भएको बताएपछि प्रजिअ भट्टराईले भने–‘गलत समाचार लेखेको भए सम्बन्धित निकायले कारबाही गरिहाल्छ ।
समाचार लेखेकै आधारमा कसैले पनि पत्रकारलाई आफूखुशी कारबाही गर्न पाउँदैन । कानून विपरित कसैले पत्रकारलाई निशाना बनाउँछ भने उसलाई हामी दण्डित गछौँ ।’
चितवनको कोरोना अस्पतालको विषयमा समाचार लेख्ने पत्रकारहरुलाई दिइएको धम्कीबारे जानकारी गराउन पत्रकार महासंघको टोली प्रशासन कार्यालय पुगेको थियो । समाचार लेखेकै कारण चेतावनीसहितको धम्की दिएपछि चितवनका पत्रकारहरुले आफूलाई असुरक्षित महशुष गर्दै प्रशासन कार्यालय पुगेका हुन् ।

अस्पतालको विषयमा प्रकाशित समाचारलाई लिएर अनलाइनखबर डट कमका सुवास पण्डितलगायतका पत्रकारलाई नेकपासम्बद्ध अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले नै विज्ञप्ति प्रकाशित गरी कारवाही गर्ने धम्की दिएको थियो । नेकपा चितवनले पनि अस्पतालको विषयमा राजनीतिकरण गर्न खोजिएको भन्दै पुष्टि भएका समाचार मात्रै प्रकाशन गर्न पत्रकारहरुलाई चेतावनी दिएको थियो ।
केही दिन अघि सिसिटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित भएपछि पत्रकारहरुलाई धम्की आएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष जनक अर्यालले प्रकाशित समाचारप्रति कुनै गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक भएको बताउँदै प्रशासनले धम्की दिनेहरुमाथि निगरानी राख्नुपर्ने बताए ।

प्रेस संगठनका केन्द्रीय सदस्य शिशिर सिंखडाले आमपत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षा गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए । लोकतान्त्रिक व्यवस्थामा पनि समाचार लेखेकै भरमा यसरी धम्की आउनुले आफू आश्चर्यमा परेको पत्रकार सुवास पण्डितको गुनासो थियो । चितवनका पत्रकारहरु र नागरिक समाजबाट यो प्रकरणमा आफूलाई साथ दिएकाप्रति उनले धन्यवाद व्यक्त गरे ।
यसअघि नेपाल पत्रकार महासंघ, प्रेस संगठन र प्रेस युनियन चितवनले पत्रकारहरुलाई दिइएको धम्कीप्रति संस्थागत ढंगले विरोध जनाएका थिए ।

 



ट्रेन्डिङ