थारु समुदायको बर्ना र वर्तमान लकडाउन

थारु समुदायको बर्ना र वर्तमान लकडाउन

कारी महतो

अहिले कोरोनाभाइरस (कोभिड–१९) महामारी संक्रमणको सन्त्रासले विश्वभरि लकडाउन गरिएको छ । थारु समुदायका बुजुर्गहरुले लकडाउनको अर्थ बुझ्न सक्दैनन् । लकडाउनको अर्थ नबुझेपनि यससँग सम्बन्धित क्रियाकलापसँग पुस्तौंपुस्तादेखि परिचित छन् । विश्वभरि लकडाउनको अवस्थालाई थारु समुदायले “बर्ना” सँग तुलना गरिरहेका छन् । थारु समुदायको बर्ना बारे संक्षिप्त रुपमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
थारु समुदाय बसोबास गर्ने क्षेत्रलाई थरुहट भनिन्छ । थरुहट क्षेत्रमा थारु समुदायका पुर्खाहरु लाखौं वर्षदेखि बसोबास गर्दै आइरहेका छन् । त्यसक्रममा थरुहट क्षेत्रमा विभिन्न किसिमका सरुवा रोगले बेलाबेलामा महामारीको रुप लिन्थ्यो । त्यसबेला आधुनिक अस्पताल र उपचार प्रविधिको नामनिशान पनि थिएन । तर पनि थारु समुदाय थरुहट भूमिलाई छाडेर अन्यत्र गएन । यसै क्षेत्रमा अनेक उपायको खोजी गरी बन्जर भुमिलाई आवाद गरिरहे ।

बर्ना के हो ?
विभिन्न रोगव्याधिले थरुहटको आधा जनसंख्या नै सखाप हुँदा पनि सहनशील थारु समुदाय थरुहट भूमिलाई छाडेनन् । विभिन्न भयानक रोगले महामारीको रुप लिदा थारु समुदायले गुरो वा गुरौको सहारामा बाँच्नुपथ्र्यो । थारु समुदायको हरेक गाउँमा प्रत्येक वर्ष एकजना प्रमुख गुरो राखिन्थ्यो । त्यसलाई पत्रीथी गुरो भनिन्छ । पत्रीथी गुरोले नै गाउँका मानिस, घरपालुवा जनावर र खेतीबालीको रक्षाको लागि सम्पूर्ण गाउँलेको उपस्थितिमा सम्बन्धित गाउँको जिम्दारको घरमा र बरमथानमा विशेष पुजापाठ गर्नुपर्छ । पुजापाठको क्रममा कुखुरा, परेवा, बोका, रक्सी, चामल, सुपारी लगायतका सामग्री चढाउने गरिन्छ । पुजापाठ पश्चात युवा गोठालाहरुले गाउँको उत्तर सीमादेखि दक्षिण सीमासम्म विशेष प्रकारको जडिबुटी मिश्रित अक्षता छर्दछन् । त्यसपछि निश्चित समयअवधिसम्म गाउँका कसैले पनि कुनै काम गर्न पाउँदैन । त्यसलाई बर्ना भनिन्छ । अहिले पनि कतिपय थारु गाउँमा त्यस किसिमको प्रचलन जिवितै छ ।
थारु समुदायले वर्षदिनमा धेरै बर्ना गर्नुपर्ने परम्परा छ । बर्नाको समयअवधिमा गाउँलेहरुलाई काम गर्न बन्देज गरिन्छ । ती बर्नाहरु अवस्था हेरेर एक–दुई दिनदेखि पाँच–सात दिनसम्मको हुन्छ । बर्नाको अवधिभरि कुनै किसिमको हातहतियार नचलाउन, खेतबारीमा कुनै काम नगर्न, माछा मार्न नजान, अर्को गाउँमा नजान, घाँस नकाट्न, दाउरा नचिर्न, इनारबाट पानी नझिक्न, घर लिपपोत नगर्न, सागसब्जी नटिप्न, ढिकीजाँतो नचलाउन, नाङ्लो नचलाउन, खेतबारीमा हिडडुल नगर्न इत्यादि कुनै काम नगर्न उर्दी जारी गरिन्छ । जारी गरेका उर्दी कुनै व्यक्तिले जानीबुझी वा झुक्किएर उल्लंघन गरेका पाइएमा सबैको रायसल्लाह बमोजिम नगद जरिवाना गरिन्छ । त्यसैले बर्नाको समयअवधिभरि गाउँलेहरु सम्पूर्ण कामलाई थाँती राखी गाउँघरमै बसेर समय बिताउने गर्दछन् । अहिले लकडाउनको समयलाई थारु गाउँघरका बुढापाकाहरुले बर्नाकै संज्ञा दिन्छन् । थारु समुदायले मनाउने बर्नालाई विभिन्न किसिमले वर्गीकरण गर्न सकिन्छ ।

खेतीपातीको लागि गरिने बर्नाः
मानवसमुदायको विकासक्रमसँग परापूर्वकालदेखि नै मानिसले खेतीपाती गर्दै आइरहेका छन् । थारु समुदायले पनि खेतीपाती गर्दै आइरहेको छ । खेतीपाती गर्ने क्रममा विभिन्न किसिमका किराहरुले खेतीबालीमा हानीनोक्सानी पु¥याउने भएपछि गाउँका अगुवाहरुको अनुरोधमा जिम्दारले पत्रीथी गुरोबाट विभिन्न किसिमका बर्ना गराउने प्रचलन छ । खेतीपातीका लागि गरिने बर्नाहरु मध्ये यसारी बर्ना, हरियरि बर्ना, दूधभरन खिलभरन बर्ना, गान्हीक बर्ना, रोपाक बर्ना, लालपियर बर्ना, लेरुइपाइठ बर्ना, लवाङी बर्ना इत्यादि पर्दछ । यी बर्नाहरु हरेक वर्ष निश्चित समयमा नियमित रुपमा गर्ने गरिन्छ ।
मानिसको लागि गरिने बर्नाः
मानवसमुदायलाई रोग नलागोस् वा रोग लागेपनि एकअर्कामा नसरोस् भनेर गरिने बर्ना मानिसको लागि गरिने बर्ना हो । यसलाई थारु भाषामा मन्सेक बर्ना भनिन्छ । मन्सेक बर्नामा थमौती बर्ना, बैठकी बर्ना, बहकटी बर्ना, दादुहैजाक बर्ना इत्यादि पर्दछ । यी मध्ये कुनै बर्ना हरेक वर्ष नियमित गरिन्छ भने कुनै बर्ना आवश्यकता अनुसार गरिन्छ ।
जीवजनावरको बर्नाः
मानिसले आफ्नो उपयोगका लागि विभिन्न किसिमका जीवजनावरहरु शिकारी युगदेखि नै पाल्दै आइरहेका छन् । विभिन्न समयमा घरपालुवा जीवजन्तुमा लाग्ने रोगको विरुद्धमा पनि थारु समुदायले बर्ना गर्ने गर्दथे । त्यसमध्ये खुरेतको बर्ना बढी प्रचलनमा आएको थियो । जीवजनावर लागि गरिने बर्ना आवश्यकता अनुसार गर्ने परम्परा छ ।

जागीर बर्नाः

थारु समुदायले हरेक पाँच पाँच वर्षमा गरिने सबैभन्दा ठूलो बर्ना भनेर जागीर बर्नालाई लिइन्छ । यो बर्ना खासगरी खेतीपातीको लागि गरिए पनि जीवजनावर र मानिस सबैको सुरक्षाको लागि हरेक पाँच वर्षमा नियमित रुपमा गरिन्छ ।
सौंसारी बर्नाः
थरुहटका सबै गाउँमा एकैदिन गरिने बर्नालाई सौंसारी बर्ना भनिन्छ । यो बडादशैंको नवमीको दिनमा गरिन्छ । त्यसदिन हरेक गाउँका सबै मानिसमा लागू हुने भएकोले संसारको सबैभन्दा बढी मानिसले मनाउने बर्ना भएकोले सौंसारी बर्ना भनिएको हुनसक्छ ।
बर्नाप्रतिको विश्वासः
विगतमा थारु समुदायले मात्र होइन राजाले समेत गुरोलाई विश्वास गरेको अवस्था थियो । राजाले नै गुरोलाई आधिकारिक रुपमा रैतिहरुको सुरक्षाको लागि जिम्मा दिने गर्दथ्यो । वि.सं. १८६४ जेठ ३ गतेका दिन राजा गिर्वाणयुद्ध विक्रम शाहले पश्चिम चितवनका टेटु गुरोलाई गहिडवार प्रगन्नाका रैतीलाई हात्ती, बाघ, भूत–प्रेत, रोगव्याधि आदिबाट बचाउनका लागि लालमोहर प्रदान गरेको इतिहास जिवित छ । त्यसअघि पनि थारु समुदायमा पुस्तौंदेखि बर्ना संस्कार चलिआएको परम्परा मानिन्छ । तर वर्तमान समयमा आधुनिक शिक्षा र विज्ञानको विकास भएसँगै थारु समुदायमा गुरोप्रति विश्वास घट्दै गए । गुरुवाई सिक्ने चाहना पनि घट्दै गए । फलस्वरुपः पुराना गुरोहरुको देहावसानसँगै गुरो पद्धति पनि हराउँदै गइरहेको छ ।
वर्तमान समय वैज्ञानिक युग हो । थारु समुदायले परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषिपद्धति अंगाल्न थालेका छन् । तर बर्नालाई अहिले पनि छाड्न सकेका छैनन् । किनकी जुनबेला वैज्ञानिक क्षमताको अभाव थियो, त्यसबेला यहि परम्परा र संस्कारले थारु समुदायलाई थरुहटमा टिकाइराख्न आत्मविश्वास दिलाएको थियो । जस्तोसुकै कठिन परिस्थितिमा पुस्तौंपुस्ता थरुहट भूमिमै बसोबास गर्दै आइरहेकोले थारु समुदायमा औलो प्रतिरोधात्मक शक्तिको विकास भएको मानिन्छ ।
बर्ना र लकडाउनमा भिन्नताः
थारु समुदायको परम्परागत बर्नाको विकसित रुप नै लकडाउनलाई लिंदा खासै फरक नपर्ला । तथापि बर्ना र वर्तमान समयमा भएको लकडाउनमा केहि भिन्नता छ । बर्नामा दुई गाउँका बीच सम्पर्क बिच्छेद हुन्थ्यो भने लकडाउनमा दुई परिवारका बीच सम्पर्क बिच्छेद हुन्छ । बर्नामा व्यक्तिगत वा सामूहिक सबै काम गर्न बन्देज गरिन्छ भने लकडाउनमा व्यक्तिगत काम गर्न बन्देज गरिएको छैन । लकडाउनको मुख्य उद्देश्य सामाजिक दूरी कायम राख्नु हो ।

निश्कर्षः
थारु समुदायमा पुर्खौदेखि चलिआएको बर्ना संस्कारलाई थारु समाजका पुर्खाले जसरी अनुशासित रुपमा पालना गरेका थिए, त्यसरी नै नेपाल सरकारले देशैभरि लागू गरेको लकडाउनलाई साबुन पानीले हात धोएर इमान्दारीपूर्वक पालना गर्नु सबैको कर्तव्य हो ।
सन्दर्भ श्रोतः
१. नन्द किशोर चौधरी, चितवन थारु संस्कृति स्मारिका, २०६३, थाकस चितवन क्षेत्र नं. ६
२. मनोज चौधरीे, हमार चिनारी, थारु साँस्कृतिक पत्रिका
३. रमानन्द प्रसाद सिंह, थारु संस्कृति, अंक ५
४. तेजनारायण पंजियार, प्राचीन नेपाल, अंक १३५
५. नेपालका राजा तथा तराईका थारु, नेपाल र एशियाली अनुसन्धान केन्द्र, २०५८



ट्रेन्डिङ