सरकारका पछिल्ला कदमप्रति प्रमुख प्रतिपक्ष कांग्रेस आक्रमक बन्दै

सरकारका पछिल्ला कदमप्रति प्रमुख प्रतिपक्ष कांग्रेस आक्रमक बन्दै

काठमाडौँ १७ बैशाख ।  सरकारका पछिल्ला कदमप्रति प्रमुख प्रतिपक्ष कांग्रेस आक्रमक देखिएको छ । स्वास्थ्य समाग्री खरिदमा भएको घोटलादेखि अध्यादेश प्रकरणसम्म आईपुग्दा सरकारले बैधता गुमाएको भन्दै कांग्रेस केन्द्रीय सदस्यहरुले सरकारप्रति आफ्नै पार्टीको नेतृत्वसमेत लचक बनेकोमा असन्तुष्टि जनाएका छन् ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य रामशरण महत, महेश आचार्य, गगन थापा, प्रदीप पौडेलललगायतले सकारको कडा आलोचना गरेका थिए । उनीहरुले पछिल्ला घट्नाक्रममा राष्ट्रतिको भूमिकासमेत निष्पक्ष र संवैधानिक मर्यादाभित्र नभएको बताएका छन् ।

सरकारका गलत कदमलाई आक्रमक ढंगले अघि बढाउन नेतृत्वलाई केन्द्रीय सदस्यहरुले दबावसमेत दिएका थिए । बरिष्ठ नेता रामचन्द्र पौडेलले केरोना महामारीको नियन्त्रणका दिशामा सम्पूर्ण शक्ति एकिकृत गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने दिशामा लागेको भन्दै आपत्ति जनाए ।‘संविधानको मर्म र भावनाविपरित संवैधानिक परिषद्‍लाई आफ्नो मुठीमा ल्याउने र पार्टीहरुमा तोडफोड मचाउने नियतले दल त्याग सम्बन्धी ऐन संशोधन गर्न अध्यादेशहरु जारी गर्न पुग्ने यो सरकारको प्रधानमन्त्री देशमा अस्थिरता, अराजकता र भाँडभैलो मच्चाउने खराब नियतको प्रधानमन्त्री हो भनेर किन नभन्ने ?’पौडेलले बैठकमा राखेको लिखित मन्तव्यमा भनेका छन् ।

 

उनले पार्टी तोड्न सांसद अपहरण गर्ने बाहुवलीहरु खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसिरहेको सांसदलाई आश र त्रास देखाउँदै काठमाडौं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन ? भन्दै प्रश्न गरेका छन् ।

सरकारले सिफारिस गरेको अध्यादेशलाई अध्ययन नै नगरी मिनेटभरमा पारित गर्ने राष्ट्रपतिको भूमिकासमेत विवादस्पद रहेको पौडेलेको भनाई थियो । ‘संविधानका संरक्षक नै ‘धृतराष्ट्र’बनेपछि ‘हस्तिनापुर’को संरक्षण कसले गर्ला ?’ पौडेलले भनेका छन् ।

आफू अपहरित भएको र आफ्नो सांसद अपहरित गरिएकोमा उजुर लिएर पुलिस र सरकारी वकिल कहाँ उजुरी दर्ता गर्न जाने सांसद र नेताहरुलाई रित्तै फर्काउने यो सत्ता देशको कानूनी प्रकृयाको स्वयं बाधक र स्वेच्छाचारी तत्व भएको पौडेलले बताए ।



ट्रेन्डिङ