बालबालिकालाई विद्यालयमै पौष्टिक खाजाको व्यवस्था

बालबालिकालाई विद्यालयमै पौष्टिक खाजाको व्यवस्था

कारी महतो
चितवन, ११ भदौ । खैरहनी नगरपालिका वडा नं. १ मा रहेको कंकाली माध्यमिक विद्यालयले नर्सरी, केजी र कक्षा एकका ११७ विद्यार्थीहरुलाई विद्यालयमै पौष्टिक खाजा खुवाउन थालेको छ । खाजा खुवाउन थालेपछि साना साना बालबालिकाहरु निकै खुशीसाथ नियमित रुपमा विद्यालय आउने गरेका विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले बताए ।
यसअघि विद्यार्थीहरुले चाउचाउ, बिस्कुट, चटपट जस्ता जङ्कफुड खाने गर्दथे भने विपन्न विद्यार्थीहरुले खाजा नखाई भोकभोकै चार बजेसम्म पढ्नु पर्दथ्यो । विद्यालयको अनुरोधमा वडाकार्यालयले विद्यालय वरपरका पसलहरुमा जङ्कफुड बिक्री वितरण रोक लगाएको थियो । तर त्यो अभियान असफल भएपछि वडाले सानासाना विद्यार्थीहरुका लागि पौष्टिक खाजाको लागि बजेटको व्यवस्था मिलाइदिएको छ ।
“जङ्कफुडले विद्यार्थीहरुको मानसिक र शारीरिक विकासमा प्रतिकूल असर पर्ने कुरालाई ध्यानमा राखी खाजा खुवाउनका लागि वार्षिक दुई लाख रुपैयाँ वडाले विनियोजन गरेका हौं ” वडाअध्यक्ष भूमि प्रसाद कँडेलले बताए ।
खाजा व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिका सदस्य गीता आचार्यको संयोजकत्वमा एक खाजा व्यवस्थापन समिति गठन गरिएको छ । खाजा पकाउन र वितरण गर्नका लागि दैनिक दुई जनाका दरले हरेक दिन अभिभावकहरु विद्यालयमा आउने गरेका छन् ।



ट्रेन्डिङ