भन्सार अधिकृतसहित १५ जनाविरुद्ध ४८ करोड राजश्व छलीको मुद्दा

भन्सार अधिकृतसहित १५ जनाविरुद्ध ४८ करोड राजश्व छलीको मुद्दा

काठमाडौं, ५ भदौ । हिमालय कार्गो तथा बनबोरी माता ट्रेडर्सका मुख्य मुख्य कारोबारी वनोदकुमार गुप्तासहित १५ जनाविरुद्ध ४८ करोड राजश्व चुहावट तथा विदेशी विनिमय अपचलनको मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले उनीहरुविरुद्ध ४७ करोड ८९ लाख विगो माग दावी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । मुद्दा दर्ता गरिएकाहरुमध्ये चार जना सरकारी कर्मचारी हुन् ।

भन्सार अधकृतद्वय बटुकृष्ण अधिकारी, र सुभाषप्रसाद श्रेष्ठ तथा नायव सुब्बाहरु देवीबहादुर थापा र बसन्तकुमार सुवेदी पनि मुद्दामा मुछिएका छन् । भन्सार ऐजेन्ट दिनेशकुमार वानियाविरुद्ध पनि मुद्दा चलाइएको छ ।

गुप्तासहित हिमालयन कार्गोका प्रोपाइटर मधुकुमारी चौधरी, सञ्चालक रविन्द्र गुप्ता, बनबोरीमाता ट्रेडर्सका खाता सञ्चालक एवं कारोवारी राहुलकुमार गुप्ता र भीआर इन्टरनेशनलका सञ्चालक वीरेन्द्र गुप्ताविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

उनीहरुको मिलेमतोमा हिमालयन कार्गोमार्फत नेपालगञ्जबाट भन्सार चोरी पैठारी गरी भन्सार महसुल, भ्याट तथा आयकर राजश्व छली गरेको देखिएको विभागले जनाएको छ ।

रोहित अग्रवाल सञ्चालक रहेको अमरपाली इन्टरनेशनल, रेयाजुल अन्सारी प्रोपाइटर रहेको एनआईसीआई ट्रेडर्स, बृजलाल रावत प्रोपाइटर रहेको पिजी इम्पोर्ट हाउस, शिवराज भट्टराई प्रोपाइटर रहेको मार्को इन्टरनेशनल, रोहित अग्रवाल सञ्चालक रहेको श्याम ट्रेडिङ्ग, इश्वर दयाल हजार दुशाध प्रोपाइटर रहेको महादेव ट्रेड इन्टरप्राइजेज नामक फर्महरु दर्ता गराएर कारोवार हिमालयन कार्गोमार्फत राजश्व चुहावट गरेको भेटिएको विभागले जानकारी दिएको छ ।

यी फर्महरुले भन्सार महसुलतर्फको विगो १४ करोड ९९ लाख ८० हजार र आयकरतर्फको विगो ९ करोड ९ लाख ८६ हजार गरी जम्मा राजश्व चुहावटको विगो ४५ करोड ६४ लाख ३ हजार ३ सय ५७ रुपैयाँ कायम गरेर १५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

विभिन्न र्फममा सञ्चालक रहेका उनीहरुले आपसी मिलेमतोमा हिमालयन कार्गोबाट कारोवारको व्यवस्थापन गर्ने गरी बनबोरीमाता ट्रेडर्स प्रालि नामक कम्पनी सञ्चालक रविन्द्र गुप्ताको नाममा बैंक खाता खोलेर सामान आयातका लागि भारतका विभिन्न कम्पनीहरुलाई मालबस्तु आयात नगरी विदेशी विनिमय अपचलन गरेको पाइएको छ ।

उनीहरुले मालबस्तु आयात गर्ने प्रयोजन भन्दै रकम विदेश पठाई सो वापत सामान आयात नगरी २ करोड २४ लाख ९९ हजार बराबर विदेशी मुद्रा नेपाल बाहिर पुर्‍याएको खुलेको छ । यसकै आधारमा बिदेशी विनिमय नियमित गर्ने ऐन, अनुसार विगो असुलउपर गरी कैद सजाय समेत माग गरेर मुद्दा दायर गरिएको छ ।
हेर्नुस् कसले कति राजश्व छले ?



ट्रेन्डिङ