ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री दुई मध्ये एक पद छाड्न माधव नेपालको माग

ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री दुई मध्ये एक पद छाड्न माधव नेपालको माग

काठमाण्डौं ४ भदौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई मध्ये एक पद छाड्न माग गर्नुभएको छ । ओलीले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद मात्र छाड्नुपर्ने भन्दै उहाँले पार्टीमा लिखित प्रस्ताव दर्ता गर्नुभएको छ ।

नेता नेपालले दर्ता गराएको सातबुँदे नोट अफ डिसेन्टमा लेखिएको छ, ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै व्यक्तिमा लागू गरियोस् ।’ पार्टी सचिवालय बैठकका निर्णयप्रति असहमति जनाउँदै आएका नेता नेपालले मापदण्डविपरीत कसैलाई धेरै जिम्मेवारी दिइएको र कसैलाई जिम्मेवारीविहीन बनाएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

नेता नेपालले दर्ता गराएको ‘नोट अफ डिसेन्ट’मा पार्टी विधानले तोकेको कमिटीका बैठकहरु नबसेको र विधि, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा पार्टी नचलेको भन्दै असन्तुष्टि जनाइएको छ । सरकारले पार्टीको नीति, निर्णय र योजनाअनुसार काम नगरेको भन्दै नेता नेपालले सरकारको समिक्षाका लागि स्थायी कमिटीको बैठक बोलाउने निर्णय कार्यान्वयन गर्न माग गर्नुभएको छ ।

यस्तै आफ्नो मानमर्दन गर्ने उद्देश्यले वरीयता क्रममा आफूलाई घटुवा गरिएको उहाँको दाबी छ । नेता नेपालले पुरानो वरीयताका आधारमा तात्कालीन एमालेका तीन जना उपाध्यक्ष र एक उपमहासचिवलाई सचिवालयमा ल्याउनुपर्ने माग पनि गर्नुभएको छ । युवा, विद्यार्थी, महिला, मजदुर जस्ता संगठनमा कनिष्ठलाई जिम्मेवारी दिइएको भन्दै उहाँले असहमति जनाउनुभएको छ ।



ट्रेन्डिङ