पत्रकार रवि लामिछाने सहित तीनै जनालाई ५ दिन हिरासतमा राख्न चितवन अदालतले दियो अनुमति

पत्रकार रवि लामिछाने सहित तीनै जनालाई ५ दिन हिरासतमा राख्न चितवन अदालतले दियो अनुमति

चितवन ३१ साउन । पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।

पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ । न्यूज २४ टेलिभिजनको कार्यालयवाट पक्राउ गरेर चितवन ल्याइएको पत्रकार लामिछानेलाई जिल्ला अदालत सम्म लैजान प्रहरीलाई निकै हम्मे हम्मे भयो । जिल्ला प्रहरी कार्यालयको मुख्य प्रवेशद्धारमा पत्रकार लामिछानेका समर्थकहरुले नाराबाजी गर्न थालेपछि ब्याक डोर अर्थात पछाडीको ढोका प्रयोग गर्नुपरेको थियो । पछाडीको ढोकाबाट जिल्ला अदालत सँगै रहेको सरकारी वकिलको कार्यालय लगिएको थियो । सरकारी वकिलको कार्यालयसँगै रहेको जिल्ला अदालत चितवनमा समर्थकहरुलाई छलाएर लैजान प्रहरीले भने निकै कसरत गर्नुपर्यो ।

प्रदर्शनकारीले लामिछानेको रिहाइको माग गर्दै सरकार र गृहमन्त्री विरुद्ध समेत नाराबाजी गरेका थिए । समर्थकहरुलाई छलेर पत्रकार लामिछाने सँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।
बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने कलंकीबाट अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो । उनीहरुलाई मध्यरातमा चितवन पुयाइएको थियो ।



ट्रेन्डिङ