शमीपुर विद्यालयलाई एकलाख रुपैयाँ आर्थिक सहयोग प्राप्त/शैक्षिक गुणस्तरका लागि शिक्षकहरुको ग्रेड निर्धारण गर्ने नगरपालिकाको तयारी / ग्रेड मिट नभए शिक्षकलाई विदा गर्ने योजना

शमीपुर विद्यालयलाई एकलाख रुपैयाँ आर्थिक सहयोग प्राप्त/शैक्षिक गुणस्तरका लागि शिक्षकहरुको ग्रेड निर्धारण गर्ने नगरपालिकाको तयारी / ग्रेड मिट नभए शिक्षकलाई विदा गर्ने योजना

कालिका २९ साउन । कालिका नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरु मध्ये नमुना विद्यालयको रुपमा स्थापित हुँदै गएको श्री राष्ट्रिय आधारभूत विद्यालय शमीपुरलाई सहयोगी संस्था फेस नेपालले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयको परिसरमा निर्माणाधिन अवस्थामा रहेको भवनको प्लाष्टर र रङरोगनका लागि फेस नेपालका संयोजक श्रीराम देवकोटाले १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कालिका नगरपालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठले शिक्षाको विकास नभए सम्म समाज रुपान्तरण हुन नसक्ने बताउनुभयो । समाज रुपान्तरणका लागि भएपनि शिक्षामा लगानी आवश्यक भएको तर्क गर्नुभयो । शिक्षामा गरिएको लगानी खेर नजाने भन्दै नगर प्रमुख श्रेष्ठले ढिलोचाडो भएपनि नतिजा अवश्य आउने बताउनुभयो । कालिका नगरक्षेत्र भित्रका स्कुलहरुमा फेस नेपालको लगानीले आफुहरुपनि उत्साहित भएको बताउँदै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले पनि शमीपुर स्कुललाई ९८ लाख रुपैयाँ बराबरको २ वटा भवनका लागि लगानी गरेको जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख श्रेष्ठले नगरक्षेत्रको शैक्षिकस्तर वृद्धिका लागि शिक्षकहरुका ग्रेड निर्धारण गर्ने योजनाका साथ अगाडी बढन लागेको जानकारी दिनुभयो । “ ए देखि ग्रेड सुरु हुन्छ ” उहाँले भन्नुभयो – “ डि ग्रेड ल्याउने शिक्षकहरुलाई घर पठाउने योजना रहेको नगर प्रमुख श्रेष्ठको भनाई छ ।
कार्यक्रममा फेस नेपालका संयोजक श्रीराम देवकोटाले समाजले अपनत्व महशुस गर्ने गरी मात्रै आफुहरुले काम गर्ने गरेको जानकारी दिनुभयो । ५ वटा स्कुल र ७ वटा टोल विकास संस्था सँग समन्वय गर्ने गरी आगामी तीनवर्षीय योजना समेत तयार भइसकेको देवकोटाले बताउनुभयो । शमीपुर विद्यालयको विकासका लागि २०६८ सालदेखि फेस नेपालले सहकार्य गर्दै आएको छ । फेस नेपालको सहयोगमा भौतिक संरचना निर्माण देखि लाइबेरी कक्षको रङरोगन गर्ने सम्मको काममा आर्थिक सहयोग गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष लिला वहादुर गुरुङले शमीपुर स्कुललाई चितवनकै नमुना स्कुल बनाउने योजना सुनाउनुभयो । वडा कार्यालयले विद्यालयको भौतिक संरचनाको विकासका लागि गतवर्ष १० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्षपनि १० लाख रुपैयाँ नै बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षक संगठनका पूर्व अध्यक्ष पूर्ण पुरी, कालिका नगरपालिकाका शाखा अधिकृत ऋषिराम शर्मा, नेपाल कम्युनिष्ट ( नेकपा )का नेता भिष्म खनाल, काँग्रेस नगर सभापती राजु श्रेष्ठ लगायतले विद्यालयको गतिविधिवाट अभिभावकहरु पनि खुशी भएको भन्दै प्रशंसा गरेका थिए । विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले स्वागत गर्नुभएको कार्यक्रममा फेस नेपालका संयोजक श्रीराम देवकोटा र पत्रकार सन्तकुमार चौधरीलाई दोसल्ला र सम्मान पत्रले सम्मान समेत गरिएको छ । कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका संयोजक सोमवहादुर खड्काको अध्यक्षतमा आयोजना गरिएको हो । कालिका नगरपालिकाको वडा नं. १ सूर्यपुरमा रहेको यो विद्यालय कालिका नगरपालिकाको ३५ वटा सामुदायिक विद्यालय मध्ये नमुना विद्यालयको रुपमा स्थापित हुँदै गएको छ ।



ट्रेन्डिङ