चौपायामा एन्थ्रेक्सको जीवाणु फेला परेपछि भ्याक्सीन लगाउने अभियान चल्दै

चौपायामा एन्थ्रेक्सको जीवाणु फेला परेपछि भ्याक्सीन लगाउने अभियान चल्दै

धरान २८ साउन ।  कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको बस्तीमा पालिएका घरपालुवा चौपायामा पशु सेवा विज्ञ केन्द्र सुनसरीले भ्याक्सिन लगाउने भएको छ ।

संक्रमण फैलन नदिन रोगका कारण पशु मरेको क्षेत्र आसपासको तीन किलोमिटर परिधिमा चुन छिटिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए । जीवाणु अन्यत्र नजाओस् भनेर चुन छर्किएपछि आसपासको बस्तीलाई लक्षित गरी चौपायामा भ्याक्सिन लगाउन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई निर्देशन दिइएको उनले बताए ।

डा. मनोजकुमार महतोले घरपालुवा पशुलाई भ्याक्सिन लगाउने तयारी भएको बताए । आवश्यक भ्याक्सिन पूर्वमा नभएकाले काठमाडौंबाट मगाइएको छ । आउनासाथ टोली परिचान गरिने उनले जानकारी दिए । केही दिनअघि टप्पुको चरण क्षेत्रमा ४४ चौपाया एक्कासि मरेका थिए । पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरमा उक्त मरेका चौपायको नमूना रगत परीक्षण गर्दा एन्थ्रेक्स जीवाणु भेटिएको डा. महतोले बताए ।

सोही रिर्पोटका आधारमा उक्त क्षेत्रमा सचेतना अपनाइएको छ । रोगका विषयमा स्थानीयस्तर र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सचेत र सावधानी अपनाउन भनिएको छ ।



ट्रेन्डिङ