बागिश्वरीको प्राकृतिक चिकित्सालयमा पाँच दिने निशुल्क स्वास्थ्य शिविर

बागिश्वरीको प्राकृतिक चिकित्सालयमा पाँच दिने निशुल्क स्वास्थ्य शिविर

चितवन, २४ साउन । भरतपुर महानगरपालिका वडा नम्बर १ बागिश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा पाँच दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।
प्राकृतिक पद्धतीबाट बिरामीको उपचार गर्दै आएको चिकित्सालयले इन्टरनेशनल भोलेन्टियर अक्यूपङ्चर एशोसिएसन (इभा) तथा नेपाल जापान अक्यूपङ्चर सोसाइटीसँगको सहकार्यमा पाँच दिने शिविरको आयोजना गरेको हो । शिविर आगामी साउन २७ देखि ३१ गतेसम्म सञ्चालन हुने योगी योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर डाक्टर हेमराज कोइरालाले जानकारी दिए ।
‘पूर्वीय चिकित्सा विज्ञानको प्रवद्र्धन गर्ने उद्धेश्यले हामीले पाँच दिने स्वास्थ्य शिविरको आयोजना गरेका हौँ’ डाक्टर कोइरालाले भने, –‘पाँच दिनसम्म बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म बिरामीको उपचार हुन्छ ।’ जापानबाट आएका विज्ञ चिकित्सकहरुले अक्यूपङ्चर पद्धतीबाट बिरामीको उपचार गर्ने डाक्टर कोइरालाको भनाइ छ । शिविरमा बिरामीको उपचारमा प्रयोग हुने निडिल, मोक्सा, कपलगायतका अन्य चिकित्सकीय सामग्रीहरु जापानमा रहेको यमासो कम्पनी लिमिटेडले प्रायोजन गरेको डाक्टर कोइरालाको भनाइ छ ।
चिकित्सालय सञ्चालक संस्था श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्रकुमार पियाले अन्य उपचार पद्धतीबाट सञ्चो नभएको रोगहरुको समेत योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा सफल उपचार हुँदै आएको बताउनुभयो । सो पाँच दिने शिविरमा ढाड, कम्मर, गर्दन, घुँडा तथा अन्य जोनीहरुको दुखाई, हड्डी खिइएको, नशा च्यापिएको, साइटिका, प्यारालाइसिसलगायतका रोगहरुको उपचार हुने पियाको भनाइ छ । बाथ रोग, ग्यास्ट्राइटिस, कब्जियत, अपच, अजिर्ण, एसिडिटि, पिनास, एलर्जी, दम, घुर्ने समस्या, टाउको दुख्ने, माइग्रेन, मानसिक तनावलगायतका रोगको शिविरमा सफल उपचार हुने पियाले बताउनुभयो ।
पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धतीमा सर्वसाधारणहरुको आस्था बढ्दै गइरहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष कमलबहादुर मल्लले बताउनुभयो । अहिले चिकित्सालयमा दैनिक एक सय जना बिरामीहरु उपचारका लागि आउने गरेका मल्लले बताउनुभयो ।



ट्रेन्डिङ