‘भूत–प्रेतको होईन, खराब मान्छेको डर लाग्छ’

‘भूत–प्रेतको होईन, खराब मान्छेको डर लाग्छ’

अशोकसुजन श्रेष्ठ
मकवानपुर, २२ साउन ।

धेरै मानिस मान्छे जलाउने स्थान अर्थात् मसानघाट भन्नासाथ डराउँछन् । केही चाँही दिउँसै मसानघाट जान पनि धक मान्छन् । तर एक परिवार भने अचम्म लाग्नेगरी दुई बर्षदेखि मसानघाट नजिकै बस्दै आएका छन् ।
कुरा हो प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका १२, चारघरेको । अभाव र समस्याले मान्छेलाई भुत–प्रेतको डरबाट समेत मुक्त गराउँछ भन्ने पुष्टी एक परिवारले गरेको छ । न विद्युत छ, न खाट–पलङ्ग, न खानेपानी नै । एक स्थानीयले आमाको नाममा पानी परे मलामीहरु बस्न बनाएको छाप्रोलाई नै उनीहरुले घरको रुपमा प्रयोग गरेका छन् । जस्ता पाताले छाएको सानो छाप्रोलाई खर, पुरानो त्रिपाल, प्लास्टिकले मात्र बेरिएको छ ।
परिवर्तन सामुदायिक बनभित्र रहेको मसानघाट नजिकै एक दलित परिवार बस्छन् । छ सदस्सीय परिवारमा श्रीमती पार्वती सुनार विक, श्रीमान्, चार वर्षिय छोरा सुदीप र ११ वर्षीया, १० वर्षीया एलिसा, डेढ वर्षीया सृजनागरी तीन छोरी छन् ।
‘यहाँ आएर बसेको दुई बर्ष भयो हजुर,’ ३० वर्षिया पार्वतीले भनिन्, ‘त्यसअघि स्मारक(हेटौंडा ११) दम खोल्सामा बस्थ्यौ, त्यहाँपनि बस्न नदिएपछि यहाँ आको हजुर ।’ उनीहरु बसेको छाप्रो नजिकै मान्छे जलाउने तीन वटा मसानघाट छ, जंगलभित्र भएकाले सुनसान ठाउँ छ । छाप्रो वरिपरी नेवार, ब्राम्हण र तामाङ समुदायको छुट्टा–छुट्टै मसानघाट छ ।
बस्न अफ्ठयारो भएपनि आफ्नो घर, जग्गा र कमाई नभएपछि बाध्यताले बस्नुपरेको उनले दुःखेसो पोखिन् । ‘अफ्ठयारो त छ नि आफ्नो जग्गा जमिन केही छैन, तर के गर्नू बस्नु परिहाल्यो हजुर,’ उनले भनिन्, ‘हामीलाई पनि मन छ नि टाउँको लुकाउने घर बनाउने, छैन के गर्नू ।’
स–साना छोराछोरी मसानघाट छेउ रहेको छाप्रोमा विहानै छाडेर खानेकुराको जोहो गर्न श्रीमान्–श्रीमती दिनभर श्रम गर्छन् । मेलापात, लेवर काम गरेर तरकारी, चामल, पिठोको जोहो गर्ने गरेको उनले सुनाईन् । ‘श्रीमान्ले लेवर काम गरेर पाँच–छ सयसम्म कमाउनुहुन्छ,’ उनले भनिन्, ‘सानी छोरी दुध खाने भएपनि घरमै छोडेर जानुपर्ने बाध्यता छ, काममा बाधा गरे काम गर्न नबोलाउलान् भन्ने पीर लाग्छ ।’
माईती हेटौंडा ११ स्मारक भएपनि प्रेम विवाह गरेपछि भएका दाजुभाईहरुले समेत वास्ता नगरेको भन्दै उनले गुनासो गरिन् । सार्वजनिक जग्गामा बसेका कारण स्थानीय केही मानिसले त्यहाँबाट निकाल्छु भन्ने गरेको भन्दै उनले चिन्ता थपिएको सुनाईन् ।
बर्षादमा पानी परेपछि चुहिएर बस्न निक्कै कठिन भएको उनको भनाई छ । ‘झरी परेको बेला पानी चुहिएर बस्न मिल्दैन, बच्चाहरुलाई सुतायो, बुढा–बुढी त टाक्राक–टुक्रुक बस्ने हो रातभरी ।’ भूत–प्रेतको भन्दा पनि ‘खराब आचरणको’ मान्छेको डर लाग्ने बताउँदै उनले सुरक्षाका लागि सिरानी–सिरानीमा हँसिया राखेर सुत्ने गरेको बताईन् ।
गाउँघरमा हिंसा, बलात्कारका घटनाहरुबारे सुनेपछि छोरीहरु सम्झेर उनी झनै आत्तिन्छिन् । ‘छोरीहरुमाथि त्यस्तै अन्याय होला कि भन्ने चिन्ताले सताउँछ, तर के गर्नु न सँगै लिएर हिड्न मिल्छ, न सँगै बसेर खान पाईन्छ,’ उनले भनिन् ।

नागरिकता छैन, शिक्षामा पनि समस्या – 
छोराको मोटरसाईकलकोे ठक्करबाट खुट्टा भाँचिएपछि थप चिन्ता थपिएको छ । छोरा छ महिनाहुँदै अगेनामा परेर टाउँकोको एकभागको कानसम्म खत हेरेर उनको मन कुडिन्छ । संघसंस्था गुहारेर छोराको उपचार त गरिन् तर छोरा विरामी भएकैले माईली छोरीले स्कूल जान पाएकी छैनन् । जेठी छोरी बल्ल दुई कक्षामा पढ्छिन् ।
‘हामीसँग पैसा छैन, दलितहरुलाई छुट गर्नुन भन्दा मान्दैनन्,’ उनले भनिन्, ‘ड्रेस, किताव पनि किन्नुपर्ने भएकाले आमाजु कहाँ राखेर पढाएका छौं ।’ देशको शासनसत्ता, नेता, मन्त्री धेरै फेरिए पनि आफुहरु जस्तोको दुःख भने नफेरिएको उनको भनाई छ । ‘हाम्रो जीवन दुःखै दुःखमा बित्यो,’ उनले सुस्केरा हाल्दै भनिन् ‘छोरा–छोरीको भविष्य भने राम्रो बनाउने चहाना छ ।’



ट्रेन्डिङ