अहिलेसम्म करिब ३५ हजार नेपाली बेचबिखनमा परेको तथा १५ लाख जोखिममा रहेको तथ्यांक सार्वजनिक

अहिलेसम्म करिब ३५ हजार नेपाली बेचबिखनमा परेको तथा १५ लाख जोखिममा रहेको तथ्यांक सार्वजनिक

काठमाण्डौ २१ साउन । नेपालबाट वैदेशिक रोजगारीमा, अध्ययनका लागि र अन्य पेशा व्यवसाय गर्न जाने नेपाली बेचबिखनको जोखिममा पर्ने गरेको ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०७६’ले देखाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सोमबार सार्वजनिक गर्नुभएको यो प्रतिवेदनमा वैदेशिक रोजगारी, अध्ययन र मनोरञ्जनजस्ता पेशामा गएका अहिलेसम्म करिब ३५ हजार नेपाली बेचबिखनमा परेको तथा १५ लाख जोखिममा रहेको उल्लेख छ ।

नेपालबाट तेस्रो मुलुकमा मानव बेचबिखन र ओसारपसार बढी हुने गरेको छ । युरोपका विभिन्न देश तथा अष्ट्रेलियालगायत मुलुकमा पर्यटक, अध्ययनलगायत प्रवेशाज्ञामा लगी बँधुवाका रूपमा काम गर्न बाध्य पार्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

खाडी राष्ट्र तथा मलेसियामा मानव बेचबिखन वैदेशिक रोजगारीका नामबाट सहजै हुने गरेको छ । घरेलु कामदार तथा अन्य पेशाका नाममा नेपाली महिलालाई खाडीका विभिन्न राष्ट्रमा बाध्यकारी श्रम तथा कतिपय अवस्थामा यौनशोषणसमेत गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी राष्ट्र जान गरिएको निषेधपछि भारतीय मार्ग हुँदै जाने प्रवृत्ति बढेको छ । अधिकांश महिला बेचबिखन र यौन शोषणको सिकार हुने जखिम छ ।

आयोगका सदस्य मोहना अन्सारीले भन्नुभयो, “वैदेशिक रोजगारी, अध्ययन, मनोरञ्जन र अन्य कामका लागि गएका नेपाली बेचबिखनमा पर्ने गरेको देखिएको छ, यस्तो कार्यले अपराध मात्र नभई मानव अधिकार र मानिसको बाँच्न पाउने अधिकारको गम्भीर उल्लङ्घन भएको छ ।” नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा वार्षिक दुई सयदेखि तीन सयको सङ्ख्यामा उजुरी पर्ने गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा ३०७ उजुरी परेको थियो । आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म १७४ मानव बेचबिखनका उजुरी परेका थिए । अघिल्लो आवको तुलनामा मानव बेचबिखनसम्बन्धी उजुरी घटेको देखिन्छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा १३ हजार ६७८ नागरिक हराएका छन् । तीमध्ये केवल ४७ प्रतिशत मात्र फेला परेका छन् । यसरी हराएका र फेला नपरेका व्यक्ति अधिकतम बेचबिखनमा पर्ने गरेको पाइएको छ । प्रतिवेदनका अनुसार १० हजारभन्दा बढी व्यक्तिलाई सीमा नाकाबाट फिर्ता गरिएको छ । आव २०७५÷७६ को मसान्तसम्ममा १७४ उजुरी परे पनि बेचबिखनमा परेका ६४० जनाको उद्धार गरिएको छ भने ३७४ स्वदेशभित्र बेचबिखनमा परेका तथा २६६ जनालाई विदेशबाट उद्धार गरिएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आव २०७४र७५ मा दुई हजार ३८३ उजुरी परेका छन् । नेपालबाट भारतमा यौन व्यवसायका लागि अझै पनि लैजाने गरेको पाइएको छ । खुला सिमाना, कमजोर र परम्परागत सीमा अनुगमन, नेपाल–भारत सहकार्य र समन्वयको औपचारिक प्रणालीको अभवाले भारतमा करीब एक करोड तीन लाख व्यक्ति बाध्यकारी श्रम तथा आधुनिक दासताको सिकार भएको प्रतिवेदनमा उल्लेख छ ।

भारतमा मात्र होइन चीनमा समेत मानव ओसारपसार र बेचबिखन हुने गरेको पाइएको छ । चीनमा जबर्जस्ती विवाह, यौनशोषण तथा व्यवसायका लागि छिमेकी राष्ट्रहरूबाट महिलालाई लैजाने गरेको प्रतिवेदनमा उल्लेख छ । गत आवमा केरुङ नाकाहुँदै चीनमा बेचबिखनका लागि लैजान लागेका २९ महिलाको उद्धार गरिएको छ । नेपालबाट चीनमा बेचबिखन भएका घटनाको व्यवस्थित अभिलेखीकरण भएको पाइँदैन । यद्यपि अध्ययनका क्रममा पर्यटक प्रवेशाज्ञामा चीन लगिएका नेपाली महिलालाई डान्स रेष्टुरेन्टमा काममा लगाउने गरिएको पाइएको छ ।



ट्रेन्डिङ