आउँदो मंसिर १४ मा उपनिर्वाचन गर्ने तयारी

आउँदो मंसिर १४ मा उपनिर्वाचन गर्ने तयारी

काठमाडौं १७ साउन । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त ५० स्थानमा आउँदो मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले रिक्त स्थानमा मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको कास्की क्षेत्र २ रिक्त छ । कास्की २ बाट प्रतिनिधिसभामा विजयी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र श्रेष्ठको गएको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि त्यो क्षेत्र रिक्त भएको हो । प्रदेश सांसदहरुको निधनको कारण दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभाको १, १ क्षेत्र रिक्त छ । त्यस्तै स्थानीय तहमा जनप्रतिनिधिको निधनको नगरपालिका प्रमुख–१, गाउँपालिका अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष –४१ रिक्त छ ।

रिक्त स्थानमा ६ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने संवैधनिक प्रावधान छ । निर्वाचन आयोगले रिक्त स्थानमा मंसिर १४ गतेलाई चुनाव तोक्न सरकारसमक्ष सुझाव पेश गरेको थियो । आयोगले उपनिर्वाचनबारे छलफल गर्न दर्ता भएका १८ दलका प्रतिनिधिसँग बिहीबार फलफल समेत गरेको थियो । सरकारले आयोगको सुझाव अनुसार मंसिर १४ लाई उपनिर्वाचन तोकेको हो ।

आयोगले उपनिर्वाचनको लागि ३६ जिल्लामा सम्बन्धित स्थानमा छुट् मतदाता नामावली संकलन कार्य समेत अगाडि बढाइसकेको छ । उपनिर्वाचनको लागि करिब ३७ करोड रुपैयाँ खर्च हुने आयोगले जनाएको छ ।



ट्रेन्डिङ