पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईको इन्ट्री /नेपाल एयरलायन्स वाह भन्ने लायक बनाउने प्रतिकृया

पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईको इन्ट्री /नेपाल एयरलायन्स वाह भन्ने लायक बनाउने प्रतिकृया

काठमाडौं १५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भट्टराईलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन्। उक्त मन्त्रलाय तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए। प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भट्टराई पहिलो पटक मन्त्री बनेका हुन्।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले ताप्लेजुङको भएको चुनावीसभामा भट्टराइलाई चुनाव जिताएर पठाए आफुले मन्त्री बनाएर फर्काउने कार्यकर्तासामू वचन दिएका थिए। यसैबीच नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू मन्त्री भएकोमा पत्रपत्रिकामा विज्ञापन नदिन आग्रह गरेका छन् । मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफू वधाइको लालची नभएको बताएका छन् । ‘बधाई दिने चलन छ, म सबैलाई आग्रह गर्न चाहन्छु कसैले पनि मलाई पत्रिकामा बधाई विज्ञापन नदिनु होला,’ बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले सुनाए ।

उनले मन्त्रालयमा बोलिने भाषामा पनि चासो देखाएका छन् । आइस्योस्, गइस्योस् भन्ने भाषा मन्त्रालयमा कसैले पनि प्रयोग नगर्न भट्टराईले निर्देशन दिएका छन् । ‘सिंहदरबारमा आइस्योस्, गइस्योस् भन्ने भाषा छ भन्ने सुनेको छु, यसअघि भए पनि अब त्यस्तो भाषा कसैले पनि प्रयोग नगरिदिनु होला,’ उनले भने ।

योगेश भट्टाराईले नेपाल एयरलाइन्सको साख माथि उठाउने दावी गरेका छन् । ‘अहिले नेपाल एयरलाइन्स प्रति जसरी प्रश्न उठेका छन् तिनको समाधानका लागि छलफल गर्नेछौं, उठेका प्रश्न न्यूनीकरण गर्नेछौं,’ मन्त्री भट्टराईले भने, ‘एकदिन यस्तो बनाउँछौं, वाह १ नेपाल एयरलाइन्स भन्ने हुन्छ ।’

 



ट्रेन्डिङ