अपराधिक घटना न्यूनिकरणका लागि कालिका नगरपालिकाले धमाधम सिसि क्यामेरा जडान गर्दै

अपराधिक घटना न्यूनिकरणका लागि  कालिका नगरपालिकाले धमाधम सिसि क्यामेरा जडान गर्दै

पिविएम न्यूज 
कालिका १४ साउन । नगरक्षेत्रमा अपराधिक घटनाहरु बढ्दै गएपछि कालिका नगरपालिकाले सिसि क्यामेरा मार्फत नगरक्षेत्रको निगरानी गर्ने तयारी गरेको छ । नगर क्षेत्रका मुख्य मुख्य बजार क्षेत्रमा सिसि क्यामेरा जडानगरी बजार क्षेत्रलाई निगरानी गर्ने नगरपालिकाको योजना छ । अहिले सम्म १६ वटा सिसि क्यामेरा जडान भइसकेको कालिका नगरपालिकाका उपप्रमुख कमला भट्टराईले जानकारी दिनुभयो । खोलेसिमल बजार देखि क्बल चोकको प्रकाश मेडिकल सम्म सिसि क्यामेरा जोडान गर्ने काम सकिएको छ । पदमपुर बजार, जुटपानी बजार, शक्तिखोर बजार लगायत नगर क्षेत्रका अन्य बजार क्षेत्रमा पनि सिसि क्यामेरा जडानको काम भइरहेको नगरपालिकाले जनाएको छ ।
भरतपुरदेखि भोजाड हुँदै कालिका नगरपालिका प्रवेशगर्ने द्धार पदमपुरमा पनि सिसि क्यामेरा जडान हुनेछ । यस्तै लंकालाईन देखि माथी रत्ननगर सँग जोडिएको सीमा क्षेत्रमा पनि सिसि क्यामेरा जडान गरिने नगर प्रमुख खुमनारायण श्रेष्ठका स्वकीय सचिव दीपक लामिछानेले जानकारी दिनुभयो ।

 


हाल जडान भएका सिसि क्यामेरामा कैद भइरहेका गतिविधिहरु नगरपालिकाको आइटी विभागवाट निगरानी गर्ने गरिएको छ । सिसि क्यामेरा जडानको काम सकिएपछि सम्बन्धित वडा कार्यालय वा प्रहरी चोकीबाट समेत सिसि क्यामेरामा कैद भइरहेका दृश्यहरुको निगरानी हुने कालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ पुरीले जानकारी दिनुभयो । – “सिसि क्यामेरा जडानको काम सम्पन्न गरौं पहिले उहाँले भन्नुभयो । ”
कालिका नगरपालिकामा अपराधिक घटनाहरु दिन प्रतिदिन बढ्दै गएपछि नगरपालिकाले सिसि क्यामेरा मार्फत नगर क्षेत्रका मुख्य बजारलाई निगरानी गर्ने योजना अनुसार यो काम सुरु गरिएको हो । पछिल्लो दुई महिना भित्र कालिका नगरपालिकाको वडा नं. १ को गडुवा स्कुल देखि वडा नं. ५ स्थित पदमपुरकै पुरानो स्कुल ढेढौली आधारभूत विद्यालयमा चोरी भएको थियो । यसैगरी हाइस्कुल रोडमा दिउँदै पसलवाट नगद चोरी भएको थियो । यसैगरी कालिका नगरपालिकाको वडा नं. ३ को वडा कार्यालयनै चोरी भएको थियो । वडा नं. ३ को सिसि क्यामेराले कैद गरेको भिडियोहरु जम्मा हुने डिभिआर समेत चोरी भएको थियो । सोहि दिन वडा नं. ३ मै रहेको आधारभूत विद्यालय बनकट्टामा समेत चोरी भएको थियो । विद्यालयले शिशु कक्षाका विद्यार्थीलाई अध्यापन गराउन राखिएको टिभी चोरी भएको थियो । यस्तै पदमपुर क्षेत्रमा लागुऔषध प्रयोग देखि अन्य अपराधिक कृयाकलाप हुँदै आएकाले नगरपालिकाले यो अभियान थालेको हो । नगरपालिकाको यो अभियान स्वागत योग्य रहेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताउनुभयो । अपराधिक कृयाकलापलाई नियन्त्रण गर्न सिसि क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने प्रहरी प्रमुख आचार्यको भनाई छ । नगरपालिकाको यो अभियानलाई प्रहरीले समेत सघाउने उहाँले बताउनुभयो । ((०))

 

 



ट्रेन्डिङ