बाघ संरक्षणमा विश्वलाई उछिन्दै नेपाल

बाघ संरक्षणमा विश्वलाई उछिन्दै नेपाल

प्रमिता ढकाल /पिविएम न्यूज –

भरतपुर १३ साउन । सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बरले बढाउने लक्ष्य राखेको छ । सन् २०१८ को गणनाअनुसार नेपालमा हाल २३५ बाघ छन् । बाघको संख्या दोब्बरले बढाउने लक्ष्यमा प्रतिबद्धता जनाउँदाको समयमा जम्मा १२१ वटा थिए ।

अबको चार वर्षमा संरक्षणलाई प्रभावकारी बनाउनसके नेपाल विश्वका अन्य मुलुकमध्ये लक्ष्यमा पुग्ने पहिलो मुलुक बन्न सक्ने आकलन गर्न थालिएको छ । संरक्षणमा सफलता हासिल गरेपछि अब बाघलाई जीवनोपयोगी क्षेत्रमा प्रयोग गर्ने अवधारणा अघि सारिएको छ । अवधारणाअनुरूप नेपाल सरकारले सोमबार ‘पर्यापर्यटन प्रवर्धनका लागि बाघ संरक्षण’ भन्ने नारासाथ विश्व बाघ दिवस मनाउँदै छ । संरक्षणमा सफल हुँदै गर्दा बाघलाई बहुउपयोग गर्न सकिने पर्यटन क्षेत्रलाई ध्यानमा राख्दै कार्यक्रम तय भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णु श्रेष्ठले जनाए । ‘हामीले संरक्षणमा उल्लेख्य उपलब्धि हासिल गरेका छौं,’ उनले भने, ‘अब संरक्षणलाई प्रोत्साहन गर्दै जीविकोपार्जनको पाटोमा अगाडि बढाउने कार्यक्रम जरुरी छ ।’
सन् २०१८ को राष्ट्रिय तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बाँकेमा २१, पर्सामा १८, शुक्लाफाँटामा १६ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ बाघ रहेका छन् । विगतको तत्थ्यांकलाई हेर्ने हो भने चितवनमा बाघको संख्या स्थिर देखिन्छ । सन् २०१३ मा चितवनमा १२० बाघ थिए तर प्राकृतिक विपद बाढी र कालगतिले बाघ मरेपछि हाल ९३ वटा मात्र छन् । यद्यपि नेपालमा सबैभन्दा धेरै बाघ भने अझै पनि चितवनमै रहेको छ ।

केही वर्षदेखि बाघको संख्या स्थिर रहेको चितवन निकुञ्जमा बाघको क्यारिङ क्यापासिटी अध्ययन भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत बाबुराम लामिछाने बताए । हाल निकुञ्जमा ५२ पोथी बाघ, २९ भाले र ४ वटा भालेपोथी नछुट्टिएको अवस्थामा वयस्क बाघ छन् । पोथी बाघको प्रजनन दर अधिक हुने भएकाले चितवन निकुञ्जमा संख्या बढ्ने प्रबल सम्भावना छ । ‘यहाँको बाघको गतिविधि अध्ययन गर्दा नयाँ बाघले आफ्नो सिमाना खोजेजस्तो व्यवहार देखिएको छ,’ उनले भने, ‘संख्या पक्कै बढेको छ ।’ निकुञ्जको भार क्षमता अध्ययन गरेपछि मात्रै बाघको संख्या वृद्धि हुँदा असर गर्ने वा नगर्ने पत्ता लगाउन सकिने उनले बताए । बाघको संख्या बढाउन आहारा प्रजातिको संख्या बढाउनु अत्यावश्क मानिन्छ । चित्तल, जरायो, लगुना, रतुवा, मिर्ग, बँदेल, बाँदरजस्ता जनावर बाघका आहारा हुन् ।

एउटा बाघले एक वर्षमा औसतमा ६० वटासम्म सिकार गर्छ भने एक पटकमा १५ देखि ४० किलोसम्म मासु खान्छ । एउटा वयस्क बाघलाई वार्षिक कम्तीमा ५० वटा आहारा प्रजातिको व्यवस्थापन अत्यावश्यक मानिन्छ ।



ट्रेन्डिङ