काठमाडौं बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण ओपिडी सेवा चितवनमा सुरु

काठमाडौं बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण ओपिडी सेवा चितवनमा सुरु

भरतपुर १२ साउन । केन्द्रीय राजधानी काठमाडौं बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण ओपिडी सेवा चितवनमा सुरु भएको छ । भरतपुर स्थ्ति चितवन मेडिकल कलेज ( सिएमसि )भरतपुरले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै कलेजो प्रत्यारोपण सेवा सुरु गरेको हो ।
हेपाटाईटिस डे को अवसर पारेर आजदेखि चितवनको सिएमसीबाट कलेजो सम्बन्धी जटिल रोगबाट ग्रस्त बिरामीहरुको सेवामा हेपाटोलोजी तथा कलेजो प्रत्यारोपण ओपीडी सेवा सुरु गरेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले जानकारी दिए । डा.सागर पौडेलको नेतृत्वमा ५ सदस्ययी टोली यहाँ यो सेवा दिनेछ । कलेजोको क्यान्सर तथा ‘लिभर सिरोसिस’ जस्ता समस्याका कारण बर्सेनी मृत्युदर बढिरहेको अवस्थामा सिएमसीले यो सेवा सुरु गरेको हो ।
सहज रुपमा गाउँठाउँमा नै यो उपचार सेवा दिन आफुहरुले सुरु गरेको सेवा मुलुकै लागि अनुकरणीय हुने अस्पतालको विश्वास छ । नेपालमा विदेशको तुलनामा एकतिहाइभन्दा पनि कम खर्चमा कलेजो प्रत्यारोपण हुने गरेको छ । विदेशमा प्रत्यारोपण गर्दा ७० लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने गरेकोमा नेपालमा २० देखि २५ लाखमै प्रत्यारोपण हुन्छ । तर, प्रत्यारोपण अत्यन्त जटिल भएका कारण त्यसका लागि अत्यन्त सम्पन्न पूर्वाधारको आवश्यकताका साथसाथै कानुनी व्यवधान र दातासित बिरामीको अंगको मेल खानुपर्ने हुँदा प्रत्यारोपणले गति लिन नसकेको विज्ञहरूले बताउँदै आएका छन् । राजधानी बाहिर कलेजोसंग सम्बन्धित रोगहरुका विषयमा राम्रो उपचार गर्ने अस्पतालको समेत अभाव थियो ।
सिएमसीले यसअघि नै कलेजो प्रत्यारोपणको स्वीकृति लिईसकेको थियो । कलेजो प्रत्यारोपण सेवालाई लक्षितगरी यससम्बन्धी ओपीडि सेवा सुरु गरिएको अस्पतालले पत्रकार भेटघाट कार्यक्रम गरि जानकारी गराएको थियो । यस अस्पतालमा कलेजो सम्बन्धी रोगको निदानका लागि दक्ष जनशक्तिहरुको टिम तयार भईसकेको छ । राजधानीबाहिर चितवनमै पहिलोपटक कलेजो प्रत्यारोपण सेवा संचालन गरि चितवनलाई कलेजो प्रत्यारोपणको हब बनाउँने लक्ष्यका साथ यो सेवा संचालन गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए । साथै, आवश्यक उपकरण, पूर्वाधार निर्माण र दक्ष जनशक्तिको संयोजन मिलाउँने काम लगभग सकिएसंगै प्रत्यारोपणको ८० प्रतिशत काम सकिएको जनाईएको जनाईएको छ ।



ट्रेन्डिङ