‘हामीसँग पुर्खाहरुको जेनेटिक मेमोरी पनि छ – प्रधानमन्त्री ओली

‘हामीसँग पुर्खाहरुको जेनेटिक मेमोरी पनि छ – प्रधानमन्त्री ओली

काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाको विद्वता र ज्ञानलाई वर्तमान पुस्ताले पुनः प्राप्त गरिरहेको बताएका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन गर्दै ओलीले भने, ‘हामीसँग पुर्खाहरुको जेनेटिक मेमोरी पनि छ । त्यस कारण हामीलाई विद्वताका कुराहरु ग्रहण गर्न समय लाग्दैन ।’ उनले औषधि उपचार र अङ्ग प्रत्यारोपणमा पाएको सफलता त्यसकै एउटा उदाहरण भएको बताए ।

प्रधानमन्त्री ओलीले उच्च प्रविधियुक्त अस्पतालहरुले हामीलाई विद्वान पुर्खाको विरासततर्फ फर्काएको पनि बताएका छन् । नेपालीका पुर्खा विद्वान भएका थुप्रै प्रमाण भएको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘पुर्खाहरुले प्रयोग र अनुभवबाट जडिबुटीलाई औषधिको रुपमा प्रयोग गरे । त्यतिबेला कुनै प्रयोगशाला थिएनन् । त्यस कारण जडिबुटीहरुलाई आफ्नै शरीरमा प्रयोग गरेर औषधि र बिष छुट्याउने हाम्रै पुर्खा न् ।’ उनले थपे, ‘हाम्रा पुर्खाहरु अन्धविश्वासमा होइन प्रयोगमा विश्वास गर्दथे ।’

भवन उद्घाटनपछि प्रधानमन्त्री ओलीले अस्पतालले कसैलाई भेदभाव नगरी भरपर्दो सेवा दिनुपर्ने बताए । ‘यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई सबैलाई समान भावले उपचार गर्नेछ’, प्रधानमन्त्री ओलीले भने, ‘अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानव जातिको रुपमा उपचार गर्नु पर्दछ ।’ २०५१ सालमा आफू गृहमन्त्री भएको बेला अस्पतालको निर्माणको प्रस्ताव आएको प्रधानमन्त्री ओलीले सो क्रममा जानकारी गराएका छन् ।



ट्रेन्डिङ