सरकारी लगानीमा संचालीत हेटौंडा सिमेन्टलाई पहिचान जोगाउनै धौ धौं

सरकारी लगानीमा संचालीत हेटौंडा सिमेन्टलाई पहिचान जोगाउनै धौ धौं

काठमाडौं ११ साउन । नेपाली सिमेन्ट उत्पादनमा सबैभन्दा उच्च गुणस्तरको मानिने हेटौंडा सिमेन्ट यतिबेला आफ्नो पहिचान जोगाउन संघर्ष गर्दैछ । एशियाली विकास बैंकको सहयोगमा विसं ०३३ सालमा हेटौंडाको लामसुरे हाइटमा स्थापना भएको उद्योगले शक्ति ब्राण्डको सिमेन्ट उत्पादन गर्छ । यद्यपि आम मानिसले यसलाई हेटौंडा सिमेन्ट भनेरै चिन्छन् ।

पूर्ण सरकारी स्वामित्वको यो उद्योग हरेक आर्थिक वर्ष नयाँ लक्ष्यका साथ अगाडि बढ्छ । तर, वर्ष अन्त्य हुँदा अनेकौं कारणले जेलिएर नतिजा पुनः निराश निस्कन्छ । नेपालका सबैखाले निर्माण क्षेत्रमा एकछत्र राज गर्ने भारतीय सिमेन्ट विस्थापित गर्न राजा वीरेन्द्रले सुनौलो परियोजनाको रुपमा खोलेका यो उद्योग अहिले सञ्चालन गर्नका लागि मात्रै सञ्चालित छ ।

आजभन्दा ३४ वर्ष पहिले नेपालमा पहिलो पटक गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने हेटौंडा सिमेन्ट उद्योग अहिले सिमेन्टको हब बनेर निर्यातमा देशले पाइला चाल्दै गर्दा आफू भने सञ्चालन चुनौतीबाटै ग्रसित बनेको छ ।

शक्ति सिमेन्टले आर्जेको विश्वास

 

चार वर्ष पहिले गएको महाभूकम्पको क्षतिसम्बन्धी एक स्वतन्त्र अनुसन्धानअनुसार शक्ति सिमेन्टको प्रयोग गरी काठमाडौं उपत्यकामा निर्माण भएका सरकारी र धार्मिक धरोहरहरु सबैभन्दा कम क्षति भएको दाबी उद्योगका प्रशासन विभाग प्रमुख गणेश कोइरालाको छ । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, त्रिवि शिक्षण अस्पताल तथा अहिले निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत परियोजना हलगायतका ठूला संरचनामा हेटौंटा सिमेन्ट उद्योगको उत्पादन शक्ति सिमेन्ट प्रयोग भएको उनले बताए ।

जर्मन प्रविधिको प्रयोगबाट उत्पादन गरिने सिमेन्टका लागि उच्च कोटीको रातो माटो र ढुंगा खानी उद्योगसँग एक हजार वर्षसम्मलाई पुग्ने अवस्थामा रहेको कोइराला बताउँछन् । ‘उत्पादनका क्रममा गुणस्तरमा कुनै पनि सम्झौता गर्दैनौं । हामीलाई सरकारी कम्पनी भएकाले सुरुदेखि नै विश्वास बढी गरिन्छ । त्यसलाई कायम राख्नु नै हाम्रा लागि चुनौती हो,’ प्रमुख  कोइराला भन्छन् ।

उद्योगका इञ्जिनियरका अनुसार थोरै रासायनिक वा गुणस्तर मापदण्ड नपुगेका सिमेन्टलाई ल्याबले अस्वीकार गर्छ । ल्याबले मापदण्ड नपुगेको भनिएको सिमेन्ट बोरामा नभरी नष्ट गरिन्छ । हेटौंडा सिमेन्टको अर्को विशेषता भनेको उद्योगको आफ्नै भण्डारण केन्द्र नहुनु पनि हो । जसले गर्दा उत्पादन भएको सिमेन्ट ताजारुपमै बजारमा पुग्छ । नयाँ निर्माण गरिने कुनै पनि संरचनाको हात्तीपाइले, पिल्लर र छत ढलानका लागि पहिलो रोजाइ हेटौंडा सिमेन्ट नै हुने गरेको उद्योगको दाबी छ ।

कानुनले उँभो लाग्न दिँदैन उद्योग, लक्ष्य भेट्टाउनै मुस्किल

आर्थिक वर्ष ०७५/०७६ मा ३० लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित उद्योग अघि बढेको थियो । तर, आर्थिक वर्षको अन्तसम्म आइपुग्दा उद्योगले २२ लाख बोरा मात्रै सिमेन्ट उत्पादन गर्न सकेको उद्योगका प्रशासन विभाग प्रमुख गणेश कोइराला बताउँछन् । उद्योगको क्षमता दैनिक १६ हजार बोरा (५० केजी) सिमेन्ट उत्पादन गर्ने हो । तर, यस वर्ष सरदर दैनिक ६ हजार बोराभन्दा धेरै उत्पादन हुनै नसकेको कोइरालाले बताए ।

 

कुनै कारणबस बिजुली झ्याप्प निभ्यो भने मात्रै पनि उद्योगले एकपटक बिजुली गएवापत तीन लाख बराबरको क्षति ब्यहोर्नु पर्ने सञ्चालकको दाबी छ । वर्षमा बाह्रै महिना पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न हरेक अप्ठ्यारो वा प्राविधिक गडबडीमा जगेडा उपकरण आवश्यक पर्छ । तर, त्यसो गर्न उद्योगलाई सार्वजनिक खरिद ऐन बाधक छ । सञ्चालनमा रहेको उपलब्ध साधनले काम गर्दै जाने, यदि कुनै कारण बिग्रे वा बन्द भएमा बल्ल उपकरणका लागि पहल गर्न पाइने र त्यो पनि प्रक्रिया पूरा गर्दा एक महिना लाग्ने झञ्झटले उद्योग पीडित बनेको छ ।

गत जेठमा बिगि्रएको रमिल मेन ड्राइभ मोटरका कारण उद्योगले दुई महिनासम्म सिमेन्ट उत्पादन गर्न नसकेको कोइरालाले बताए । उद्योग र कारखाना सञ्चालनका लागि सार्वजनिक खरिद ऐन व्यवहारिक नभएको कोइरालाको ठम्याइ छ ।

पूर्णसरकारी स्वमित्व भएका कारण हेटौंडा सिमेन्टले नाफा कमाउनै पर्छ भन्ने नभएको मानिए पनि अन्य सिमेन्ट उद्योगले गुणस्तरमा जनतालाई अन्याय नगरुन् भन्नका लागि यो उद्योग बचाउन सरकारले ध्यान दिनुपर्ने उनको माग छ ।

सरकारी भनेपछि जनता नै झिक्छन् नाजायज विवाद

उद्योगले सबै प्रक्रिया पूरा गरेर मकवानपुरको मजुवा खानीमा ठेक्का लगाएको ढुंगाखानीमा स्थानीय गाउँलेले अनावश्यक विवाद निकालेर ७ महिनासम्म ढुंगा झिक्न नदिएको उद्योगको आरोप छ । क्षतिपूर्ति लगायतका अनेकन माग दाबी गरेर उद्योगलाई आवश्यक कच्चा पदार्थ झिक्नै नदिएपछि उत्पादनमा असर परेको छ ।

यता धादिङको जोगिमारामा रहेको ढुंगा खानीमा पनि स्थानीयले मुआब्जा बिबाद निकालेर लामो समय ढुंगा उत्खनन् गर्न नदिएको उद्योग स्रोतले बतायो । ‘उद्योगले सबै प्रक्रिया पूरा गरिसकेको अवस्थामा पनि जनताले अनावश्यक विवाद झिकेर भाँजो हाल्ने काम भएको छ,’ स्रोतले भन्यो । उद्योगको अप्ठ्यारोमा सहजीकरण गर्न सरकारले पहल नगरेका कारण पनि उद्योगको अवस्था दयनीय बन्न पुगेको सम्बद्ध अधिकारी बताउँछन् ।

सरकारबाट अपेक्षा

 

हेटौंडा सिमेन्ट ब्राण्ड भनेकै यही उद्योगले उत्पादन गर्ने शक्ति सिमेन्ट हो । तर, अहिले हेटौंडाको उत्पादन, हेटौंडामा बनेको, शक्तिका अगाडि पछाडि अनेक उपमा जोडिएका नयाँ-नयाँ सिमेन्टहरु बजारमा आएका छन् । उच्च गुणस्तरको सरकारी कम्पनीको गुडवील बेचेर नाफा कमाउन निजी क्षेत्रका कयौं उद्योग खुल्दा पनि सरकारले हेटौंडा सिमेन्टको उत्पादनलाई यो सरकारको लगानी अर्थात जनताकै करले खुलेको उद्योग हो भनेर बुझाउनसमेत ध्यान दिएको छैन ।



ट्रेन्डिङ