नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन

नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन

काठमाण्डौं ११ साउन । नेपाल र चीनबीच शुक्रबार हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्वीपक्षीय वार्तापछि बिहीबार सम्झौता पुनरावलोकन गर्नेसम्बन्धी सहमतिमा सम्झौता भएको हो । सम्झौताअनुसार अब दुवै देशका वायुसेवा कम्पनीको प्रतिसाता उडान ९८ पुर्‍याइएको छ । यसअघि प्रतिसाता अधिकतम ७० उडान गर्न पाउने प्रावधान थियो ।

यता नेपाल वायुसेवा निगमले चीनको ग्वाङझाउमा उडान अनुमति मागेको एक वर्ष नाघिसकेको छ । हिमालय एयरलाइन्सले स्थापनाको शुरुवातमै चीन पहिलो गन्तव्य रहेको उल्लेख गरेको थियो । हिमालयले सेवा शुरु गरेकै पाँच वर्ष पुगिसकेको छ । हिमालय एयरलाइन्स बेइजिङ जान चाहिरहेको छ । तर, उनीहरुलाई चीनमा उडानको अनुमति छैन । बेइजिङ र ग्वाङझाउ चीन र नेपालबीचको पहिलो हवाई सम्झौताबाटै तय भएका गन्तव्य हुन् ।
सन् १९९८ को द्वीपक्षीय हवाई सेवा सम्झौताले तोकेका सात गन्तव्यमा यी दुई शहर पर्छन्, जहाँ नेपाली कम्पनीले उडान गर्न पाउँछन् । उता, चीनबाट नेपालमा पाँच वटा वायुसेवा कम्पनी नेपाल आउँछन् । उनीहरुले काठमाडौंलाई चीनका विभिन्न चार शहरसँग जोड्छन् । ल्हासा, छेन्दु, कुनमिङ र ग्वाङझाउलाई चिनियाँ एयरलाइन्सले काठमाडौंसँग जोडिरहेका छन् । चीनबाट तिब्बत एयरलाइन्स, सिचुवान एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न र एयर चाइना नेपाल आउँछन् ।



ट्रेन्डिङ