बनजंगलै बनजंगल भएको देशमा साढे ६ अर्वभन्दाबढीको काठजन्य सामग्रीको आयात

बनजंगलै बनजंगल भएको देशमा साढे ६ अर्वभन्दाबढीको काठजन्य सामग्रीको आयात

काठमाण्डौं ९ साउन । मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक साढे ६ अर्ब रुपैया भन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्ने गरेको छ । आर्थिक वर्ष २०७५र७६ मा विभिन्न मुलुकबाट छ अर्ब ६० करोड ६१ लाख ३९ हजार रुपैयाको काठ तथा काठजन्य सामग्री आयात भएको छ । भन्सार विभागका अनुसार गत आवमा भारत, इन्डोनेसिया, चीन, म्यान्मा, मलेसिया, सिङ्गापुर, जर्मनी, युक्रेन, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्सलगायत मुलुकबाट सो रकम बराबरका काठका गोलिया, चिरान, प्लाई, बोर्ड, झ्यालढोकामा प्रयोग हुने फ्रेम, टेबल, सजावटका सामग्री तथा अन्य काठजन्य सामान आयात भएका हुन् । यसबाहेक काठको कोइला, काठको धुलो, सलाईदेखि दाँत कोट्याउने टुथपिकसम्मका काठजन्य सामान पनि आयात हुने गरेको विभागका निर्देशक एवं सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिनुभयो । विभागका अनुसार काठको आयात वर्षेनी बढ्दो छ । नेपालबाट काठको निर्यात भने नगण्य मात्रामा छ । गत आवमा पाँच करोड ५६ लाख रुपैया बराबरका प्लाई तथा काष्ठकलाका विविध सामग्री भारत, चीन, अमेरिका, बेल्जियम, नेदरल्यान्डलगायत मुलुकमा निर्यात भएको छ ।।



ट्रेन्डिङ