ज्ञानमा धनी छ नेपाल, ‘आधुनिक’ भनाउँदो शिक्षाले मान्यता दिँदैन

ज्ञानमा धनी छ नेपाल, ‘आधुनिक’ भनाउँदो शिक्षाले मान्यता दिँदैन

जोआना फाफ–सारनेका –

नेपालको ज्ञान क्षेत्र विश्व परिप्रेक्ष्यमा हेर्दा द्वैधपूर्ण छ। एकातर्फ प्राज्ञिक ज्ञानका आधारमा विश्वभरका विश्वविद्यालयको श्रेणी विभाजन गरिएकोमा नेपाल लुप्तप्रायः छ। तर, अर्कोतर्फ भने नेपाली विद्यार्थी विश्वभर पुगेर प्राज्ञिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदैछन्।

ठूलो संख्यामा नेपालले विदेशमा विद्यार्थी पठाउँछ, तीमध्ये कोही त अमेरिका, बेलायत, जापान र अन्यत्र प्राध्यापकसमेत पनि भएका छन्।

नेपाल ज्ञानको क्षेत्रमा निकै धनी छ तर प्रतिष्ठा, शक्ति र सम्पन्नताको विश्व प्रतिस्पर्धामा ‘आधुनिक’ भनाउँदो शिक्षाले यहाँका ज्ञानलाई मान्यता दिँदैन। आधुनिक शिक्षाको आकाङ्क्षाले यसलाई कि त छायामा पारेको छ, कि त दबाएर राखेको छ।

नेपालमा विद्यमान विभेद र ज्ञान उत्पादनमा उत्कृष्टताले प्राज्ञिक क्षेत्रमा भएको असमानतातर्फ इङ्गित गर्छ। यहाँ प्राज्ञिक व्यवस्थाको कुरा आउँछ। नीति–निर्माण र ज्ञान उत्पादन कार्यलाई कसरी संगठित गर्ने भन्ने नीतिगत विचार फैलाउने तत्व (व्यक्ति, संस्था वा संगठन) को समूहलाई प्राज्ञिक शासक भनिन्छ। तर, म यसलाई अलि बढाएर त्यस्तो ज्ञानलाई नै वैधानिक मान्ने प्रवृत्तिलाई पनि प्राज्ञिक व्यवस्थामा समेट्दै छु।

‘आधुनिक’ भनाउँदो शिक्षाले नेपालको आफ्नो ज्ञानलाई मान्यता दिँदैन।

यस्तो प्राज्ञिक व्यवस्थाको उतारचढावमा नेपाल सर्वोत्कृष्ट उदाहरण हो। यसै क्रममा विश्व परिवेशमा नेपालको स्थान र नेपालभित्रकै सामाजिक व्यवस्था पटक–पटक परिवर्तन भइरहेको छ।

विश्व समुदायले मानेको आधुनिक ज्ञान अहिलेको प्राज्ञिक व्यवस्था बनेको छ। यसमा विचार गर्नुपर्ने कुरा के छ भने, शताव्दियौंदेखि नेपालले उत्पादन र संरक्षण गरेको ज्ञानलाई आधुनिक प्राज्ञिक जगतले मान्दैन।

हाम्रो ज्ञानको मूल्य–मान्यता के छ? आदिवासी, जनजाति, महिला र दलितलगायत नेपालका पिछडिएका समूहको ज्ञानलाई के साथसाथै लिएर जानुपर्दैन?

नेपालको शिक्षा क्षेत्रमा भएको असमानता प्रष्टै छ– इतिहास नै हेर्ने हो भने पहिलो विद्यालयदेखि अहिलेसम्म ठुल्ठूला विद्यालय काठमाडौं–केन्द्रित छन्। आधुनिक शिक्षामा पहिले पहुँच शासकवर्गकै थियो। अझै शिक्षा क्षेत्रमा उच्च मानिएका जातिकै र अझ लामो समय राष्ट्रले मानेको हिन्दु धर्मकै अवलम्बीको वर्चश्व छ। त्यस्तै मातृभाषाले केही अगाडिसम्म प्राज्ञिक क्षेत्रमा प्रवेश नै पाएको थिएन।


आदिवासी, जनजाति, महिला र दलितलगायत नेपालका पिछडिएका समूहको ज्ञानलाई साथ–साथै लिएर जानुपर्दैन?


आधुनिक शिक्षातर्फ अग्रसर हुँदै गर्दा नेपालले ‘स्थानीय ज्ञान’ लाई उल्लेख्य ध्यान दिन सकेको छैन। डोरबहादुर विष्टको ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ किताबले यस्तो स्थानीय र जनजाति परम्परालाई सामाजिक व्यवस्थासँग जोड्छ।

सो पुस्तकमा जनजाति समूहले कृषि अभ्यास र वातावरण संरक्षणको ज्ञानलाई मानेर उच्च जातिका शासकवर्गले आफ्नो भाग्यवादी विचारधारा बदल्नुपर्ने बताइएको छ। त्यसयता धेरै अनुसन्धान कार्य जनजाति ज्ञान र वातावरणीय दीगोपनका बारेमा भएका छन्।

सार्वजनिक रूपमा कुनै पनि विषयमा विविध आवाज आउने गरेका छन्, चाहे सञ्चारमाध्यममा होस् वा कलाकारितामार्फत् वा विकास आयोजनामै किन नहोस्। महिलामाथि पुरुषले र सीमान्तकृत वर्गमाथि शासकले आफ्नो ज्ञान वैधानिक भन्दै लादिरहेका छन्।

आफ्नो विचार बनाउन सक्नु, अभिव्यक्त गर्ने माध्यम पाउनु र आफ्नो कुरा सुनाउन सक्नुले सशक्तिकरणको आभास दिन्छ। उनीहरूका ‘नसुनिएका’ अनुभवले आधुनिक प्राज्ञिक क्षेत्रमा समेत नयाँ ज्ञान दिन सक्छ। यस्तो ज्ञान आफैं पनि नयाँ प्राज्ञिक व्यवस्थामा बदलिन सक्छ। विभिन्न विदेशी विद्वानले यहाँका आदिवासी, महिला र दलित ज्ञानमाथि काम गरेका छन्।

नेपालको विश्वविद्यालय शिक्षा राजनीतिक एजेन्डाको स्थल बन्न पुगेको छ। विश्वविद्यालय सँगसँगै निजी शैक्षिक संस्था पनि राजनीतिक शक्तिले ताकेको छ।

केही हदसम्म यस्ता निजी शैक्षिक संस्थाले शिक्षाको मान्यतालाई बदल्न कार्य गरिरहेको छ। उनीहरूले वैकल्पिक शिक्षण प्रणाली पनि अवलम्बन गर्न खोजेका छन् र त्यो गर्नु पनि पर्छ। अबको दायित्व जो राम्रो सामाजिक अवस्थामा छन्, उनीहरूले सुविधाहीन अन्य नेपालीलाई सहयोग गर्नुपर्छ।



ट्रेन्डिङ