लमजुङको दोर्दीखोलाको बाढीले बगाएका दुई जनाको सनाखत, अझै सात जना अझै वेपत्ता/ खोजी जारी

लमजुङको दोर्दीखोलाको बाढीले बगाएका दुई जनाको सनाखत, अझै सात जना अझै वेपत्ता/ खोजी जारी

लमजुङ, ९ साउन । लमजुङको दोर्दीखोलाको बाढीले बगाउँदा मृत्यु भएका चारमध्ये दुई जनाको सनाखत भएको छ । अझै सात जना अझै वेपत्ता छन् ।

सनाखत हुनेहरुमा पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिएका छन् ।

निर्माणाधीन दोर्दी ‘ए’ जलविद्युत आयोजनामा शिवधनले फलामको काम गर्दथे भने र रमेश सहयोगी थिए । शव फेला परेकामध्ये अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको डिएसपी गुरुङले बताएका छन् ।

बुधबार दिउँसो एक्कासी आएको बाढीले जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुलाई बगाएको हो । चार जनाको शव फेला परे पनि अन्य सात जनाको अवस्था अज्ञात छ । मृतक र वेपत्ता सबै पुरुष रहेको जनाइएको छ ।

बाढीमा वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको डिएसपी गुरुङले बताएका छन् । उनले भने, ‘नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मिलेर खोजी कार्य जारी राखेका छौं । तर, हराइरहेकाहरुलाई फेला पार्न सकिएको छैन ।’

बुधबार राति परेपछि खोजी कार्य बन्द गरेको सुरक्षाकर्मीको टोलीले आज (बिहीबार) बिहानैबाट फेरि खोजी कार्यमा जुटेको हो । तर बाढी ठूलो भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको डिएसपी गुरुङले बताएका छन् ।



ट्रेन्डिङ