युवतीसँग नांगै भएको भिडियो बनाएर ४० लाख फिरौती माग

युवतीसँग नांगै भएको भिडियो बनाएर ४० लाख फिरौती माग

झापा ८ साउन । व्यापारीलाई प्रेमजाल -हनी ट्रयाप- मा पारेर ४० लाख रुपैयाँ फिरौती माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको नयाँदिल्ली बस्दै आएकी युवती प्रयोग गरेर बिर्तामोडका एक व्यापारीलाई बन्धक बनाई फिरौती माग गरिएको थियो । ५ साउनभित्र रकम दिने सर्तमा छुटेका व्यापारी प्रहरीकहाँ पुगेपछि फिरौती माग्नेहरू फन्दामा परेका हुन् । प्रहरीले व्यापारीको नाम गोप्य राखेको छ ।

‘पीडित व्यापारी हामीलाई भेट्न त आए, तर निकैबेरसम्म केही बताउनै सकेनन्,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले भने, ‘आउनेबित्तिकै उनले पानी मागेर पिए । निकै आत्तिएका थिए । हामीले डेढ घन्टासम्म काउन्सिलिङ गरेपछि मात्र उनले कुरा खोले ।’ पक्राउ परेका सबैलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ का मेराज खान र सुजन विक, इलाम फाकफोकथुम गाउँपालिका–१ की रितु फियाक लिम्बू र भारतको किसनगञ्ज घर भएका प्रकाश दास छन् । खान बिर्तामोडको भद्रपुर रोडस्थित मामा–भान्जा ग्यारेजका सञ्चालक हुन् । दास सोही ग्यारेजका कामदार हुन् । विकले भारतको दार्जिलिङबाट सञ्जु क्षेत्री नामबाट आधार कार्डसमेत बनाएका छन् । उनीहरूको साथबाट प्रहरीले बा।१५च ७३३९ नम्बरको कार, लागुऔषध स्कुफ तीन सय एमएल, प्रोप्रानोल १५ चक्की, नाइट्रोसन ६ चक्की र कालो प्लास्टिकको पेस्तोलजस्तो देखिने एउटा वस्तु बरामद गरेको छ ।

नक्कली फेसबुक आइडी खोली प्रेमको नाटक
घटनामा प्रयोग भएकी रितु फियाकले यही अपराधका लागि आफ्नो नाम परिवर्तन गरेर जया खान नामको फेसबुक आइडी बनाइन् । भारतको दिल्लीमा बस्दै आएकी उनलाई व्यापारी फसाउनकै लागि सुजन विकले बिर्तामोड बोलाए । सुजन र रितु प्रेमी–प्रेमिका हुन् । दिल्लीबाट बागडोग्रा हुँदै झापा प्रवेश गरेकी रितुले दिदीको घरमा बसेर व्यापारीसँग सम्पर्क बढाइन् ।

रितुलाई सुजनले नै व्यापारीको मोबाइल नम्बर दिएर योजना सुनाए । रितुले व्यापारीसँग निरन्तर चार दिनसम्म भिडियो तथा फोनमा कुराकानी गरिन् । भिडियो कलमा अनुहार देखेपछि व्यापारी उनीसँग भेट्न सहमत भए । रितुले सुजनकै निर्देशनमा व्यापारीलाई एउटा घरको कोठामा लगिन् । घरको चौथो तलामा रहेको फ्ल्याट पक्राउ परेकामध्येका प्रकाश दासले पाँच महिनादेखि भाडामा लिएका थिए । कोठामा कुनै पनि सरसामान छैन ।

रितु र व्यापारी कोठामा भएका वेला सुजन मुखमा मास्क लगाएर हातमा छुरी लिएर पुगे । व्यापारीले आफूले चिनेको मेराज खानलाई बोलाए । रितुलाई सुजनको निर्देशनमा प्रकाश दासले चारपानेस्थित दिदीको घरमा स्कुटरमा छाडिदिए । त्यसपछि तीनजनाले व्यापारीलाई ५० लाख रुपैयाँ मागे । बार्गेनिङ हुँदा ४० लाख रुपैयाँ ५ साउनमा दिने सहमति भएपछि व्यापारी छुटे । रितुले जया खान नामको फेसबुक आइडी बनाएको एक साता मात्र भएको थियो ।

जनही १७ वर्षसम्म कैद सजाय हुन सक्ने
प्रहरीले उनीहरूलाई अपहरण तथा शरीर बन्धक बनाई आर्थिक लाभ उद्योग र लागुऔषधसम्बन्धी मुद्दा चलाएको छ । उनीहरूलाई जनही १७ वर्षसम्म कैद र एक लाख ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ । व्यापारीलाई धम्की दिँदा प्रयोग भएका मोबाइल नम्बर, कल डिटेल विश्लेषण, फेसबुक, इमोलगायत सामाजिक सञ्जालबाट प्राप्त सूचना, प्रतिवादीहरूबीचको लिंक अध्ययन, प्रतिवादीमध्येका मेराज खानको निगरानीलगायत विधि प्रयोग गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

यस्तो छ घटना विवरण
प्रहरीका अनुसार बिर्तामोडमा व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायीलाई जया खान नाम बताउने २० वर्षीया युवतीले गत २८ असारदेखि फोन र इमोबाट नियमित सम्पर्क गर्न थाल्छिन् । साउनको पहिलो दिन व्यापारीलाई भेट्न बोलाइन् । साँझ साढे सात बजे युवती र व्यापारी कुमारी बैंक छेउमा भेट्छन् । युवतीले व्यापारीलाई साथीको कोठामा जाऔँ भन्दै बैंक छेउको गल्ली हुँदै एउटा घरको माथिल्लो तलाको कोठामा लग्छिन् ।

उनीहरू कोठामा रहेका वेला राति १० बजे केही अपरिचित व्यक्ति हतियारसहित पस्छन् । उनीहरूले व्यापारीलाई कपडा खोल्न लगाएर भिडियो खिच्छन् । युवतीसँग नांगै भेटिएको भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाइदिने धम्की दिँदै ४० लाख रुपैयाँ फिरौती माग्छन् । फिरौती रकमका लागि व्यापारीलाई उनीहरूले ५ साउनसम्मको म्याद दिँदै रकम नदिए ज्यान मार्नेसम्मको धम्की दिन्छन् ।

उनीहरूले युवतीलाई भने छाडिदिन्छन् । व्यापारीलाई मेराज खानको रोहबरमा पाँच साउनसम्ममा पैसा लिने गरी मुक्त गरिन्छ । व्यापारी र मेराज खानबीच पहिलेदेखि नै चिनजान थियो । व्यापारी मुक्त भएकै दिनदेखि उनीहरूले विभिन्न मोबाइल नम्बरबाट फोन गरी पैसा नदिए ज्यान मार्ने धम्की दिन्छन् ।

पीडित व्यापारीले तीन साउनमा इलाका प्रहरी कार्यालयमा लिखित उजुरी दिएपछि विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले पाँच साउनमा चारआलीबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका चारैजनालाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए ।



ट्रेन्डिङ