गुल्मीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो

गुल्मीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो

गुल्मी ७ साउन । गुल्मीमा सत्यवती गाउँपालिकाको वडा नं. ३ लुम्पेक र वडा नंं ४ लिम्घामा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। मृत्यु हुनेमा लिम्घामा ६ जना र लुम्पेकमा ३ जना छन्। स्थानीयका अनुसार लिम्घामा २ जना र लुम्पेकमा २ गरी ४ जना बेपत्ता छन्।

वडा नं. ४ का वडाअध्यक्ष दानबहादुर रानाका अनुसार पहिरोबाट ६ जनाको शव निकालिएको छ भने दुई जना हराइरहेको छ। मृत्यु हुनेहरुमा छल्ली विक (६३ वर्ष), निर्मला विक (२५ वर्ष), अंजली विक (१२ वर्ष), हेमन्त विक (१० वर्ष), शिवानी विक (७ वर्ष) र कम्बु विक (२८ वर्ष) छन्। तारा विक (७ वर्ष) र सुनम विक (२ वर्ष) बेपत्ता छन्। पहिरोका कारण १३ घर बस्न नसक्ने गरी क्षति भएको वडाअध्यक्ष रानाले बताए।

त्यसैगरी वडा नं. ३ का वडाअध्यक्ष रुकबहादुर रानाका अनुसार लुम्पेकमा मृत्यु हुनेहरुमा तिलकुमारी तरामु मगर (३४ वर्ष), दर्शन तरामु मगर (९ वर्ष) र दुर्गाबहादुर सिजाली (६३ वर्ष) छन्। माया विक (४० वर्ष) र बबि विक (१६ वर्ष) बेपत्ता रहेको उनले जानकारी दिए।
उक्त गाउँबाट करिब १५० जनालाई उद्दार गरिएको वडा नं. ३ का वडाध्यक्ष रुक बहादुर रानाले बताए। उनका अनुसार नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरेको हो। पहिरोबाट उद्दार गरिएकाहरु कोही पहिरो गएको गाउँदेखि माथि रहेको लुम्पेक गाउँ र तलको अस्लेवातर्फको गाउँमा रहेका आफन्तकहाँ आश्रय लिन झरेका छन्। बाँस बस्नका लागि अप्ठ्यारो पर्नेहरुलाई गाउँमा रहेको धर्मपुर माध्यमिक विद्यालयमा राखिएको उनले जानकारी दिए। स्कुलमा रहेकाहरुलाई अहिले गाउँपालिकाले खानाको लागि व्यवस्था गरेको छ।



ट्रेन्डिङ