नेकपाको भरतपुर महानगर इन्चार्जमा रेनु दाहाल चयन

नेकपाको भरतपुर महानगर इन्चार्जमा रेनु दाहाल चयन

चितवन ५ साउन । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा)ले देशभरका ६ वटा महानगरको इन्चार्ज चयन गरेको छ । चितवनको भरतपुर महानगरपालिकाको इन्चार्जमा महानगर प्रमुख रेनु दाहाल चयन हुनुभएको छ । यस्तै काठमाडौँ महानगरको इन्चार्जमा जीवनराम श्रेष्ठ, विराटनगर महानगरको इन्चार्जमा शिवकुमार मण्डल, वीरगञ्ज महानगरको इन्चार्जमा दिनेश राई, पोखरा महानगरको इन्चार्जमा मानबहादुर जिसी र ललितपुर महानगरको इन्चार्जमा सुशीला नेपाल चयन हुनुभएको छ । ७७ वटा जिल्लाको इन्चार्ज र सह इन्चार्ज पनि चयन भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले इञ्चार्ज र सह–इञ्चार्जको निर्णय गरेको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोक्ने निर्णय भएको हो ।

‘आजको बैठकबाट ७७ जिल्ला र जिल्लाकै मान्यता पाएको ६ महानगरपालिकामा इञ्चार्ज र सह–इञ्चार्ज तोक्ने निर्णय भएको छ’, श्रेष्ठले भने, ‘अर्को बैठकबाट बिभाग, आयोग, प्रवाससहित अन्य निकायहरुको एकिकरण टुंगो लगाउने छौं ।’बैठकबाट बिभाग, आयोग, प्रवास, पोलिटव्युरो कमिटी गठनलगायतको एकता टुंगो लगाउने एजेण्डा थियो । तर सहमति हुन नसक्दा मंगलबार पुन बस्ने सचिवालय बैठकले एकताको बाँकी काम टुंगो लगाउने बताईएको छ । आउँदो मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

नेकपा शीर्ष नेताहरुबीच भएको पूर्व सहमति अनुसार ८३ जिल्ला इञ्चार्जमा तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इञ्चार्ज पाएका छन् । एमालेको इञ्चार्ज भएको जिल्लामा माओवादीको सहइञ्चार्ज र माओवादीको इञ्चार्ज भएको जिल्लामा एमालेले सह–इञ्चार्ज पाएका छन् । नेकपा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा भएको सहमति अनुसार जुन पार्टीका जिल्ला इञ्चार्ज थिए उसैले पाउने गरी टुंगो लगाईएको छ ।



ट्रेन्डिङ