आचारसंहिता उल्लंघन गर्ने शिक्षकलाई कानुनी कारबाही गर्नुपर्ने –शिक्षक महासंघ / बदनाम गर्ने उद्देश्यले हामीलाई फसाउन खोजियो–आरोपिहरु

आचारसंहिता उल्लंघन गर्ने शिक्षकलाई कानुनी कारबाही गर्नुपर्ने –शिक्षक महासंघ / बदनाम गर्ने उद्देश्यले हामीलाई फसाउन खोजियो–आरोपिहरु

चितवन, ५ श्रावण । रत्ननगर–९ स्थित कपरफोरी माध्यमिक विद्यालयमा भएको मदिरा काण्डको विषयलाई लिएर नेपाल शिक्षक महासंघ चितवन र आरोपिहरुले फरक किसिमका प्रेसविज्ञप्ति जारी गरेका छन् । शिक्षकको पेसागत मर्यादा र आचारसंहिता विपरित अनैतिक व्यवहार गर्ने शिक्षकलाई कानुनी दायरामा ल्याउनका लागि नेपाल शिक्षक महासंघ चितवनले सम्बन्धित निकायको ध्यानकार्षण गराएको छ । महासंघले हिजो एक प्रेस विज्ञप्ति जारी गरी शिक्षक जस्तो पवित्र पेसामा रहेर विद्यालय हाताभित्रै मद्यपान गरी होहल्ला गर्ने शिक्षकको पेसागत मर्यादा र आचारसंहिता विपरित हुने निन्दनीय घटना भनी ठहर गरेको जनाइएको छ ।
विज्ञप्ति मार्फत् नेपाल शिक्षक महासंघ चितवनले पेसागत मर्यादा, आचरण तथा नैतिक कर्तव्यभित्र नरहने जोसुकैलाई पनि कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउँदै कहि कतै हुने यस्ता आवन्छीत गतिविधिलाई जोडेर समग्र शिक्षकहरुको पेसागत सम्मान तथा मर्यादा, इमान्दारिता र नैतिकता माथि प्रश्न नउठाई दिन समेत सबै सराकारवालाहरुलाई अनुरोध गरेका छन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष कोमलनाथ घिमिरे र सचिव रामजी भण्डारी लगायत नेपाल शिक्षक संघ चितवनका अध्यक्ष डा. हरिप्रसाद कंडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हरिश्चन्द्र सुवेदी, अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हिरामणि चापागाई र नेपाल शिक्षक परिषद चितवनका अध्यक्ष शिव प्रसाद न्यौपानेको संयुक्त हस्ताक्षर भएको प्रेस विज्ञप्तिमा नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष दान बहादुर गुरुङ र अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष अम्मबर बहादुर थापाको नाम उल्लेख भएपनि हस्ताक्षर भने गरिएको छैन ।  अर्को तर्फ आफूहरुलाई नियोजित रुपमा फसाउन खोजिएको भन्दै पाँचैजना आरोपीहरुले आपत्ति जनाएका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी आफूहरुलाई नियोजित रुपमा फसाउन खोजिएको जनाएका छन् । विज्ञप्तिमा विद्यालयको भवन निर्माणको क्रममा रहेको र विगत केही महिनादेखि चोरीका घटना भएकाले सुरक्षाको लागि बसेको बेला केहि उच्छृङ्खल व्यक्तिहरुले बाहिरबाट बियर र रक्सीका बोतलहरु कोठामा लगी फोटो खिच्ने र प्रहरी बोलाइ लछारपछार गरी फसाइएको जनाएका छन् ।
आरोपीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा निर्माणको क्रममा रहेको विद्यालयको भवनका सामग्री कुर्नको लागि राति सुतेको बेला रक्सीको बोतल ल्याएर राखी प्रहरी बोलाउने, भिडियो खिच्ने र चरित्रहत्या गर्न खोजिएकोले निष्पक्ष छानवीनको माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्नेहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम बगाले, प्रधानाध्यापक विष्णु कट्टेल, सहायक प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, कार्यालय सहयोगी गोपालप्रसाद रिमाल रहेका छन् ।
गत असार ३१ गते राती पूर्वी चितवनको रत्ननगर –९ स्थित कपरोफोरी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेल, सहायक प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमालले असार मसान्तको क्लोजिङ सकेर विद्यालय हाताभित्रै जाँडरक्सी सहित पार्टी गरी होहल्ला गर्दै गरेको बेलामा विद्यालय हाताभित्र मिस्त्रीहरुको कोठाबाट प्रहरीले रङ्गेहात पक्राउ गरेको थियो ।



ट्रेन्डिङ