दोलखाली पत्रकारहरुलाई चितवनमा स्वागत

दोलखाली पत्रकारहरुलाई चितवनमा स्वागत

चितवन, ०४ साउन । नेपाल पत्रकार महासंघ दोलखाबाट चितवन भ्रमणमा आएका दोलखाली पत्रकारहरुलाई चितवनमा स्वागत गरिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले दोलखाली पत्रकारहरुको टोलीलाई स्वागत गरेको हो ।
सो स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले दुई जिल्लाका पत्रकारहरुबीच एकअर्कामा सहकार्य आवश्यक रहेको बताए । विभिन्न संघसंस्थाको सहयोगमा पत्रकार महासंघ चितवन शाखाको भवन निर्माण गरिएको उल्लेख गर्दै गिरीले चितवनमा प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने तयारी भइरहेको बताए ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सिर्जना अर्यालले दुवै जिल्ला एउटै प्रदेशमा पर्ने र दुवै ठाउँ पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएको बताइन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरन्जीवि मास्केले पत्रकारहरुको जिल्ला शाखा भ्रमणले एकअर्काबीच अन्तरक्रिया हुने बताए ।

मास्केले पत्रकारहरुबीच जिल्लाका सूचना प्रवाहमा समेत सहयोग पुग्ने बताए । नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले आफूहरुको जिल्ला शाखा भ्रमण अन्तर्गत चितवन आएको उल्लेख गर्दै चितवनका पत्रकारलाई दोलखाको लागि निम्ता समेत गरेका छन् । आन्तरिक पर्यटनका लागि दोलखा महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै चितवन र दोलखाबीच सहकार्य आवश्यक रहेको लामाले बताए ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायण अधिकारीले स्वागत मन्तव्य राखेका थिए । स्वागत कार्यक्रममा पत्रकारहरुबीच अन्तरक्रिया समेत भएको थियो ।



ट्रेन्डिङ